२०७९ आश्विन ११ मंगलवार 1664263048
Banner

लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्न सक्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्ने बताइन् । उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शनिवार दिएको शुभकामना सन्देशमा राष्ट्रपतिले जहानियाँ निरंकुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मानस्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाइरहेका बताउनुभयो। त्यसपछिको ७ दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएको उहाँले बताउनुभयो ।

प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिए पनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्ने वास्तविकतालाई स्मरण गर्नुपर्ने बताउँदै सन्देशमा राष्ट्रपतिले हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मानेको उल्लेख गर्नुभएको छ ।

‘लोकतन्त्रलाई सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ र अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ,’ सन्देशमा भनिएको छ ।

प्रजातन्त्र दिवसको अवसरले ‘समृद्ध नेपाल, सुखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अंगलाई संवैधानिक मूल्य एवं मान्यताहरू कार्यान्वयन गर्न अभिप्रेरित गर्ने अपेक्षा राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।