२० माघ २०७९, शुक्रबार 1675477260
Banner

२१ वर्ष कांग्रेसले सरकार चलाएर के गर्यो ?

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४६ साल यता २१ वर्ष सरकार चलाएको कांग्रेसले देशका उद्योगधन्दा बेचेर खाएको आरोप लगाउनु भएको छ । नेकपा एमाले सरकारमा पुग्नासाथ विकासका काम गरिहाल्छ भनेर कांग्रेस अहिले आत्तिएको बताउनु भयो ।

आज आयोजित युवा संघ नेपालको राष्ट्रिय प्रचार भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले देशको रथ तान्छौं भन्ने पाँच दलीय गठबन्धनले अर्थतन्त्रको पाङ्ग्रा फुस्काइदिएको बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘देशको रथ तानिँदैन यिनीहरूबाट । यिनीहरूले १४ महिनामा अर्थतन्त्रको पाङ्ग्रा फुस्काए र समाजलाई कलहतिर लगे । सत्तामा पुग्ने, मिलिजुली खाने र आ–आफ्ना परिवार सपार्ने, यिनीहरूको उद्देश्य त्यत्ति हो । यस अवस्थाबाट देशलाई एमालेले जोगाउनेछ ।’

कांग्रेसले ४६ सालपछि २१ वर्ष सरकारमा रहेर देशका लागि केही नगरेको उहाँले आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘२१ वर्ष कांग्रेसले सरकार चलाएर के गर्यो ? ३८ वटा कि ४२ वटा उद्योग बेचेर खायो । हेटौंडा कागज कारखानादेखि हरिसिद्धि, छालाजुत्ता जे भट्यो बेचेर खायो ।’

एमालेले जहाँ पाइला टेक्यो त्यहाँ यहाँ परिवर्तन आइहाल्ने उहाँले दाबी गर्नुभयो ।