८ बैशाख २०८१, शनिबार 1713619957
Banner

रवीन्द्र मिश्रलाई पार्टीको वरिष्ठ उपाध्यक्ष बनाउन राप्रपा तयार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा रवीन्द्र मिश्रलाई वरिष्ठ उपाध्यक्ष बनाउन तयार भएको छ । बिहीबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले मिश्रसँग भएको छलफलबारे जानकारी गराएका छन् । एक पदाधिकारीका अनुसार मिश्रलाई वरिष्ठ उपाध्यक्ष दिएर पार्टीमा ल्याउनुपर्ने अध्यक्ष लिङ्देनको प्रस्ताव थियो ।

उपाध्यक्ष बुद्धिमान तामाङले भने मिश्रलाई पार्टीमा ल्याउन आफू बाधक भएको भनेर प्रचार गरिएको भन्दै असन्तुष्टि जनाए । आफू बाधक नभएको बताएका उनले पार्टीमा २० ३० वर्षदेखि काम गर्दै आएका नेता कार्यकर्तालाई मानमर्दन गर्न नहुने बताए ।

उपाध्यक्षद्वय ध्रुवबहादुर प्रधान र रोशन कार्कीले पनि पार्टीमा भएका नेताहरुको पनि मानमर्दन गर्न नहुने धारणा राखेका थिए । सल्लाहकार परिषद्का अध्यक्ष निरञ्जन थापाले निर्वाचित उपाध्यक्षहरुभन्दा तल रहने गरी मिश्रलाई पार्टीमा ल्याउन सल्लाह दिएका छन् । राप्रपामा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की गरी चार निर्वाचित उपाध्यक्ष छन् ।