१४ बैशाख २०८१, शुक्रबार 1714115703
Banner

सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीपूर्ण : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले सूचना र सञ्चारका क्षेत्रमा भएको नयाँ प्रविधिको विकाससँगै देखापरेको सञ्चारका नयाँ अनलाइनका माध्यमबाट झुटा र भ्रमपूर्ण सूचनाको प्रसार हुनु चुनौतीको विषय भएको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५३औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विश्वव्यापी चुनौतीका रूपमा रहेको सञ्चारका अनलाइन माध्यमलाई बढी मर्यादित र प्रभावकारी बनाउनका लागि काउन्सिलले अनलाइन सञ्चालन गर्नुअघि अनिवार्य अभिमुखीकरणको व्यवस्था गरेकामा खुसी व्यक्त गर्नुभयो । राष्ट्रपति भवन शीतल निवासमा भएको उक्त समरोहमा उहाँले पत्रकारिताको पेशागत आचरण कायम राखी स्वच्छ, स्वतन्त्र र उत्तरदायी पत्रकारिताको विकासका लागि प्रेस काउन्सिल स्थापना गरिएको स्मरण गर्दै त्यसका लागि उक्त संस्थाले निरन्तर भूमिका खेलिरहने पनि बताउनुभयो । पत्रकारको अभिभावक संस्था काउन्सिलले पत्रकार आचारसंहिताको पालना गर्ने पत्रकारलाई पुरस्कृत गर्ने र उल्लङ्घन गर्नेलाई कारवाही गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।

समारोहमा उहाँले संविधानले सुनिश्चित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र सुदृढ तुल्याउन संवैधानिक प्रावधानलाई राज्यका सबै अङ्गले गम्भीरतापूर्वक पालना गर्नुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र आगामी मङ्सिर ४ गते हुन लागेको सङ्घ तथा प्रदेशसभाको आवधिक निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गर्न नागरिक समुदायका रूपमा रहेको पत्रकारिता क्षेत्रले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । निर्वाचन सफल बनाउन सरकारले पत्रकारसँग ठूलो अपेक्षा राखेको छ : सञ्चारमन्त्री कार्की समारोहमा सञ्चार तथा सूचना प्रविधमिन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले लोकतन्त्रको जगका रूपमा रहेको स्थानीय सरकार निर्माण भइसकेको स्मरण गर्दै आगामी मङ्सिर ४ मा हुने निर्वाचनमा पत्रकारको अझै ठूलो योगदानको अपेक्षा रहेको बताउनुभयो । मन्त्री कार्कीले भन्नुभयो, “हामी अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सङ्घारमा छौँ, तपाईं पत्रकार र प्रेस काउन्सिलको अझै बढी योगदान समाजले चाहेको छ, सरकार स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित र विश्वसनीयरूपमा निर्वाचन सम्पन्न गराई जनमतमार्फत मुलुकलाई समृद्धिको बाटोतर्फ अग्रसर गराउने आकाङ्क्षालाई सफल बनाउन प्रतिबद्ध छ ।” उहाँले त्यसका लागि सकारात्मक योगदान गर्न आग्रह गर्नुभयो ।

उहाँले मञ्चमा आएर कर्तव्य र अधिकारको कुरा गर्न सहज हुने उल्लेख गर्दै तर त्यसलाई व्यवहारमा परिणत गर्न कठिन हुने भएकाले कार्यान्वयनतर्फ लाग्न ध्यानाकर्षण गराउनुभयो । प्रेस काउन्सिल कुन उद्देश्यका साथ स्थापना भएको हो र त्यो उद्देश्यमा काउन्सिल कति अघि बढेको छ, अहिलेको समयको चुनौतीलाई सामना गर्न कति सक्षम छ, त्यसतर्फ पनि विश्लेषण गर्नु जरुरी रहेको उहाँले औँल्याउनुभयो । मन्त्री कार्कीले काउन्सिलप्रति समाजले अझै धेरै अपेक्षा गरेको बताउँदै प्रेरणाको स्रोत बन्न युवा पत्रकारलाई आग्रह गर्नुभयो । निष्पक्षता तथा तथ्यमा नै शङ्का हुनेगरी मिडियामा सामग्री आउँदा विश्वसनीयता नै खलबलियो : अध्यक्ष बस्नेत समारोहमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राष्ट्रभित्र विविध समस्या उत्पन्न भएकाले राष्ट्रियताका सवालमा होस् वा देश निर्माणको अन्य अभियानमा सबै राजनीतिक शक्ति गम्भीर र सचेत हुनुपर्नेमा जोड दिनुभयो । उक्त अभियान सफल बनाउन सञ्चार जगत्को महत्वपूर्ण भूमिका हुने उहाँको भनाइ थियो ।