१३ बैशाख २०८१, बिहीबार 1714084734
Banner

संविधानसभा सदस्य सञ्जय साहलाई दोब्बर जन्मकैदको फैसला

जनकपुरधाम : तत्कालीन संविधानसभा सदस्य सञ्जय साहलाई दोब्बर जन्मकैदको फैसला सुनाइएको छ। जनकपुरधामको सञ्चार उद्यमी अरुण सिंघानिया हत्या काण्ड र पाँच जनाको मृत्यु हुनेगरी गराइएको जनकपुर रामानन्द चोक बम काण्डको मुद्दामा उनलाई जन्मकैदको फैसला सुनाइएको हो।

सञ्चार उद्यमी सिंघानियाको मुद्दामा उच्च अदालत जनकपुरले जिल्ला अदालत धनुषाकै फैसला सदर गरेको छ। बुधबार न्यायाधीशद्वय प्रमोदकुमार श्रेष्ठ वैद्य र डालकुमार खड्काको संयुक्त इजलासले जिल्ला अदालतको आदेशलाई निरन्तरता दिएको अदालतका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

०७६ असार १७ गते जिल्ला अदालत धनुषाले आरोपित पूर्वमन्त्री सञ्जय साहलाई जन्मकैद फैसला सुनाएको थियो। जिल्ला अदालतले सञ्जय र मनक लामालाई जन्मकैदको फैसला सुनाएको थियो। त्यस्तै रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनी, चन्द्रदीप यादव र पवन लामालाई १० वर्ष कैद सजाय फैसला सुनाएको थियो। सोही फैसलालाई उच्च अदालतले सदर गरेको हो।