१३ बैशाख २०८१, बिहीबार 1714028667
प्रदेश

विद्यार्थीद्वारा नगरपालिका कार्यालयमा तोडफोड

बारा-  शैक्षक भ्रमणका लागि रकम  उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले  बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा  तोडफोड गरेका छन् । कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड गरेका हुन् ।

कार्यालयमा तोडफोड र प्रहरीमाथि ढुङ्गामुढा गर्दा प्रहरी निरीक्षक देवराज काफ्लेसहित सात सुरक्षाकर्मी घाईते भएका छन् भने केही विद्यार्थी समेत घाईते भएका छन् ।

कार्यालयको गाडी, टिभी, एसी, सोफा झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण लगायतमा तोडफोड गरिएको नगरप्रमुख किशोरी साह कलवारले जानकारी दिनुभयो ।

भ्रमण खर्च माग्न विद्यार्थीहरु आएकोमा डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र केही दिनपछि बजेट उपलब्ध गराईदिने भन्दा पनि सो समूहले कार्यालयमा अन्धाधुन्द तोडफोड गरेको नगरप्रमुख कलवारले बताउनुभयो ।

नगर प्रमुख कलवारले विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाउनुभएको छ । उहाँले यसबारे प्रहरीलाई जाहेरी दिएर कारबाही प्रकृया अघि बढाइने पनि बताउनुभयो ।

घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले क्षतिको विवरण संकलन भईनसके पनि करिब ३० लाख रुपैयाँ बढीको क्षति भएको बताउनुभयो ।