१३ बैशाख २०८१, बिहीबार 1714102442
अर्थ

नेप्सेमा झिनो अङ्कको गिरावट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक १।९४ अङ्कले ओरालो लागेर दुई हजार ७३२।५१ मा ओर्लेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।०२ अङ्कले घटेर ५१८।६४ मा ओर्लेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २२७ कम्पनीको ४० लाख १७ हजार ४२९ कित्ता शेयर रु दुई अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने आठ उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १२।३३, जलविद्यत् २।५९, उत्पादन ०।११, अन्य ५।१२, सामूहिक लगानी कोष ०।०२ अङ्कले उकालो लागेको छ । बैंकिङ ०।०७, होटल तथा पर्यटन ९।७, विकास बैंक २०।३, वित्त १०।६३, निर्जीवन बीमा ६।२, लघुवित्त ४।४७, जीवन बीमा ५४।६१, लगानी ०।३४ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा जीवन विकास लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु २२ करोड ३७ लाख ३६ हजार १९७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी रु १२ करोड २० लाख १४ हजार २४५, नेपाल दूरसञ्चार कम्पनी रु १० करोड दुई लाख ७५ हजार ७६२, अरुण भ्याली हाइड्रोपावर रु आठ करोड छ हजार २१० र नेशनल हाइड्रो पावरको रु सात करोड ४८ लाख ८३ हजार ५१० बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार आजको कारोबारपछि बजार पूँजीकरण रु ३८ खर्ब ७० अर्ब २९ करोड ४९ लाख १७ हजार ५५८ बराबर पुगेको छ । कारोबारका आधारमा तेह्रथुम पावर कम्पनी ६।४७, युनाइटेड इदी मर्दी हाइड्रोपावर ६।३२, सामलिङ पावर कम्पनी ४।१३, जीवन विकास लघुवित्त ३।५३ र मैलुङ खोला जलविद्युत् कम्पनीका शेयरधनीले ३।४७ प्रतिशतले कमाए ।

बुद्धभूमि नेपाल हाइड्रोपावर ४।०२, एनआइसि एशिया ऋणपत्र ३।९०, ग्रीनलाइफ हाइड्रोपावर ३।३९, नेरुडे लघुवित्त विकास बैंक २।२९ र सिभिल लघुवित्तका लगानीकर्ताले २।२७ प्रतिशतले गुमाएका छन् ।