१३ बैशाख २०८१, बिहीबार 1714105273
पर्यटन

घुमफिर गर्ने ठाउँ झोलुङ्गे पुल

एकसाता अघि मात्र सञ्चालनमा आएको महोत्तरीको बर्दिबास–९ पशुपतिनगरस्थित रातु नदीको झोलुङ्गे पुल अहिले आम सर्वसाधारणका लागि घुमफिरको रमाइलो ठाउँ बनेको छ ।

सामान्यतया मधेशमा कमै बन्ने झोलुङ्गे पुल यहाँ अहिले आम सर्वसाधारणका लागि साँझबिहान घुमफिरका लागि आकर्षण बनेको हो । “आवागमनमा सहज भएको त छँदैछ, अहिले हाम्रो ठाउँमा यो घुमफिरको रमाइलो गन्तव्य पनि बनेको छ”, बर्दिबास–९ पशुपतिनगरको वनरझुल्ला बस्तीका सामाजिक अभियानी युवा अमृतकुमार महतोले भन्नुभयो, “मधेशमा नौलो भएर पनि होला, पुल सञ्चालनमा आएदेखि नै यहाँ साँझबिहान डुल्न र पुल वारपार गर्न पुग्नेको लाम लाग्छ ।” पशुपतिनगरकै पथलैया र बनरझुल्लालाई जोड्ने यो दुई सय ५९ मिटर लम्बाइको पुल मधेश प्रदेश सरकारले रु तीन करोड २९ लाखको लागतमा हालै निर्माण सम्पन्न गरेपछि सञ्चालनमा आएको हो । यस्तै गत साता मात्रै सञ्चालनमा आएको जिल्लाको भारतीय सीमावर्ती मटिहानी नगरपालिका–५ को गोबरौरा र धनुषाको घोडघाँस जोड्ने दूधमती नदीको झोलुङ्गे पुलमा पनि घुमफिरको उद्देश्यका मान्छे बाक्लै पुगेका देखिन्छन् ।

मटिहानी नगरपालिकाले रु ४५ लाखको लागतमा निर्माण गरेको यो ३२ मिटर लम्बाइको पुल महोत्तरी/धनुषा दुबैतिरका बासिन्दाका लागि आकर्षण बनेको छ । आफ्ना ठाउँमा अझै केही झोलुङ्गे पुलका योजना बन्ने नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । छिमेकी बस्तीकै भए पनि वर्षौँ भेट नभएका दुबैतिरका बासिन्दा अहिले पुलमा दिनहुँजसो भेट गर्छन्”, मटिहानी–५ गोबरौराकी बासिन्दा कान्तिवती भन्नुहुन्छ, “पुलमा बिहानबेलुका घुम्न पुग्नेमा महिला, पाका उमेरका ज्येष्ठ नागरिक र किशोरकिशोरीको सङ्ख्या उल्लेख्य देखिन्छ ।” महोत्तरीमा यसैपाली निर्माण सम्पन्न भएर सञ्चालनमा आएका यी झोलुङ्गे पुल बर्खामा बाढी तर्न नसकेर वारीपारी रोकिनुपर्ने अवस्थाको अन्त्य मात्र नभएर घुमफिरको गन्तव्यसमेत भएपछि बस्तीका बासिन्दा मख्ख देखिन्छन् । “जरुरी कामले बाहिर हिँडेका यात्रीले बाढीकै कारण यात्रा रोक्नुपथ्र्यो, यो राहत त छँदैछ, अहिले त छिमेकी बस्ती भङ्गाहा–४ र बर्दिबास–१२, १३ को बिजलपुरासम्मका मान्छे घुमफिरकै लागि पुलसम्म आउने गरेका छन्”, बर्दिबास–९ का वडाध्यक्ष घुरन महतो भन्नुहुन्छ, “यसले आफ्नो ठाउँले थप वास्ता पाएको झैं लाग्दोरहेछ ।” जिल्लामा यसपाली मात्र झोलङ्गे पुल निर्माण सम्पन्न भएका हैनन् ।

यसअघि जिल्लाको मध्यवर्ती भेगको बलवा नगरपालिकाको बलवा बजार र मनराशिशवा नगरपालिकाको सरपल्लो बीचको ओक्सी नदीमा निर्माण भएको झोलुङ्गे पुल पहिलो भएको महोत्तरीवासी सम्झन्छन् । एक दशक पहिले नै सञ्चालनमा आएको सो पुलमा अझैपनि घुमफिर गर्न आउने नघटेका बलवा बजारका शिवनारायण झा बताउनुहुन्छ ।