२०७९ आश्विन ११ मंगलवार 1664263274
कला/साहित्य

उमेरले छ दशक, सङ्गीतमा जवानीकै जोस

सारङ्गी, मादल, हार्मोनियम, मुर्चुङ्गालगायत दर्जन बढी वाद्यवादनका सामानले कोठा भरिएका छन्, घर वरपरको वातावरण बिहान होस् या दिउँसो, साँझ सङ्गीतले गुञ्जयमान छ । सडक नजिकै जोडिएको घर, बाटो हिँड्ने यात्री एकछिन अडिएर मीठो सङ्गीतको धुन सुनेर आफ्नो गन्तव्यमा पाइला बढाउँछन् । सङ्गीतको तालमा आफ्नो जीवनको समय उत्तराद्र्धमा पुगेको अझै पत्तो छैन, टीकाराम ढकाललाई ।

उमेर गन्ती गर्दा उहाँ ठ्याक्कै ६१ वर्षमा पुग्नुभयो तर सङ्गीतले १६ वर्षे जवानीको जोशिलो पारामा सङ्गीतको तालमा डुबुल्कु मार्नुहुन्छ । पाल्पाको रामपुर नगरपालिका–६ स्थित प्याक्लुका उहाँको दैनिकी वाद्यवादनमा बित्ने गरेको छ । कोठामा सजाएर राखिएका थरिथरिका बाजा बजाएर जीवन व्यतीत गरिहनुभएको छ । “उमेरले छ दशक नाघिसकेछ तर सङ्गीतले १६ वर्षे ठिटो छुजस्तो बनायो, बाजा बजाउन भनेपछि मनभित्रै देखि नै निकै जोशिलोपन बढेर आउँछ, बुढ्यौली टेकेजस्तो लाग्दैन”, उहाँले भन्नुभयो, “सङ्गीतमा रमाएर बाँच्ने नै मेरो सङ्कल्प हो त्यसरी नै बाँचिरहेको छु,, एउटा नशाजस्तै बनेको छ ।” घरमा बुबाबाट बाँसुरी बजाउने प्रेरणा पाएपछि १३ वर्षको उमेरदेखि नै वाद्यवादनमा लाग्नुभएका ढकालले १७ थरिका बाजा बजाउनुहुन्छ । आफूले बजाउने सबै बाजा घरमा किनेर राख्नुभएको छ । बाँसुरी, खैजडी, मुजुरा, मादल, माउथ हार्मोनियम, हार्मोनियम, किबोर्ड, अक्टोप्याड, मुर्चुङ्गा, पात, छ्याइछ्याइ, सहनाई, ठूलो झ्याली, शङ्ख, डमरु, सारङ्गी, मोहोलीलगायतका बाजा बजाउन सिपालु हुनुहुन्छ । बिहान उठेदेखि नै साँझसम्म बाजासँगै दैनिकी बितेको छ । करिब तीन लाख बढीका वाद्यवादनका सामग्री खरिद गर्नुभएको छ ।

नयाँ बाजा देख्ने बित्तिकै झिकाउने र घरमा आफैले सिक्ने गर्नुहुन्छ । उहाँले पुराना बाजा मात्रै नभई बजारमा आएका आधुनिक खालका बाजा पनि मज्जाले बजाउने गर्नुहुन्छ । लोपोन्मुख अवस्थामा रहेको पुरानो बाजा मोहोली र मुर्चङ्गा घरको दराजमा संरक्षण गरेर राख्नुभएको छ । विशेष गरी बाँसुरी, खैजडी, मुजुरा, हार्मोनियम, सारङ्गी, अक्टोपसलगायतका बाजा बढी बजाउन मन पराउनुहुन्छ । “औपचारिकरुपमा कला संस्कृति सिक्ने चाहना थियो तर त्यस समयमा वातावरण बनेन, राष्ट्रियस्तरसम्म पुगेको भए एक खालको राष्ट्रिय कलाकारको उपाधि बन्थ्यो, तै पनि स्थानीयस्तरमा नै वाद्यवादनमा भिजेको छु, यसमै सन्तुष्टि मिलेको छ, मेरो कलालाई राष्ट्रियस्तरका कलाकारले पनि चिनेर घरमा बेला–बेलामा आउने गर्नुहुन्छ ।” मानिसका जीवनका दुःख र पीडालाई भुल्न सङ्गीत अतिआवश्यक रहेको उहाँ बताउनुहुन्छ । ब्लड क्यान्सर रोगले ग्रसित उहाँ नियमित उपचारसँगै घरमै वाद्यवादन कार्यमा रहँदा रोगको पीडा नै भुल्दै गएको अनुभव सुनाउनुभयो । करिब १६ वर्ष अघि क्यान्सर रोगले आक्रमण गरेपछि नेपाल तथा भारतका विभिन्न अस्पतालमा नियमित उपचार गरेपछि अहिले दुई वर्षयता भने रोग निको हुँदै जाँदा उपचारमा अस्पताल कम धाउनुपरेको छ ।