११ बैशाख २०८१, मंगलवार 1713881100
Banner

सत्तारुढ गठबन्धनको बैठक आजपनि बस्दै, एमसीसी टेवल गर्ने / नगर्ने विषयमा निर्णय हुने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।

बिहान १० बजे बैठक बस्ने तय गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्मा टेबल गर्नेरनगर्ने विषयमा निर्णय हुनेछ । त्योसँगै गठबन्धनको भविष्य पनि तय हुने भएकाले आजको बैठक ‘निर्णायक’ मानिएको छ । यसअघि, बिहीबार बसेको बैठक निष्कर्षविहीन बनेको थियो । नेताहरू आफ्नो पूर्ववत् अडानबाट टसमस नभएपछि निष्कर्ष ननिस्किएको हो ।

बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी संसद्मा टेबल गरेरै संसदीय प्रक्रियाबाट टुंगो लगाउनुपर्नेमा जोड दिनुभएको थियो । जवाफमा नेकपा (माओवादी केन्द्र)का नेताहरूले पहिले संसद् विनाअवरोध सञ्चालन हुनुपर्ने अडान राखेका थिए । संसद्को गतिरोध अन्त्य नभएसम्म एमसीसी टेबल हुन नसक्ने माओवादीको अडान छ । सत्ता गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रले यथास्थितिमा एमसीसी टेबल भए सरकार छाड्ने निर्णय गरिसकेको छ ।

बिहीबारको गठबन्धनको बैठक निष्कर्षविहीन बनेपछि देउवा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको थियो ।