२०७९ मंसिर २४ शनिबार 1670669745
प्रदेश

शारदा खोलामा पक्की मोटरेबल पुल निर्माण

 शारदा नगरपालिका १ शान्तिनगरबाट वडा १२ रेशमज्युला जोड्ने पक्की मोटरेवल पुल सञ्चालनमा आएको छ । शारदा नगरपालिकाको भ्याटसहित ४ करोड ५५ लाख रुपियाँको लागतमा पुल निर्माण सम्पन्न भएको हो । जुद्ध एन्ड पूर्ण निर्माण सेवा दाङले पुल निर्माणको ठेक्का लिएको थियो ।

२०७५ माघ २० गते निर्माण सम्झौता भएको पुल २०७८ जेठ २० गतेभित्र पुरा गरिसक्नुपर्ने भएपनि निर्माण कम्पनीले ६ महिनाको म्याद थप गरेर निर्माण सम्पन्न गरेको हो । पुलको लम्बाई ५० मिटर र चौडाई ८ मिटर रहेको छ ।

पुल बनेसँगै शारदा नगरपालिका १ श्रीनगरबाट वडा १२ र १३ का नागरिकलाई प्रत्यक्ष रुपमा सुविधा हुने भएको छ । वडा १२ का वडा अध्यक्ष दिपककुमार हमालले पक्की पुल बनेसँगै शारदा नगरपालिकाका साथैै छत्रेश्वरी गाउँपालिका वडा ५, २, १, मोख्ला र रोल्पाको झ्यामसम्म सहज हुने बताउनुभयो ।