४ बैशाख २०८१, मंगलवार 1713329091
पालिका

खोरेतविरुद्ध खोप अभियान सुरु

कर्णाली प्रदेशमा पहिलो पटक पशुमा खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले रुकुमपश्चिमबाट पशुमा लाग्ने खोरेत रोगविरुद्ध खोप अभियान सुरु गरेको हो । 

प्रयोगशालाका पशु चिकित्सक लक्ष्मीनारायण दासका अनुसार पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमको सहकार्यमा प्रदेशमै पहिलो पटक खोरेत रोगविरुद्धको खोप अभियान चलाइएको हो । उहाँले रुकुमपश्चिमका ५० हजार पशुमा उक्त खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । 

जिल्लाको मुसीकोट नगरपालिका–२, कालच्युरीमा रहेको सिद्धबाबा कृषि फार्ममा रहेका गाई, भैँसीलाई खोप दिएर अभियानको सुरुवात गरिएको हो । 

असोज १ गतेदेखि सुरु भएको खोप अभियान असोज ९ गतेसम्म जिल्लाभरमा सञ्चालन हुने पशु अस्पताल तथा पशुसेवा कार्यालयका निमित्त प्रमुख ज्ञानुकुमार शर्माले जानकारी दिनुभयो । 

यो अभियानमा घरघरमै पुगेर गाई, भैँसी, भेडा, बाख्रा, बङ्गुर, सुँगुरलगायतका पशुलाई खोरेत रोगविरुद्धको खोप दिइनेछ । यसका लागि जिल्लाका सबै स्थानीय तहमा ३५ जना खोपकर्ता परिचालन गरिएको निमित्त प्रमुख शर्माले बताउनुभयो । 

यस जिल्लाका छवटा स्थानीय तहमा रहेका पशुलाई खोरेत रोगविरुद्धको खोप दिनका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला 

सुर्खेतले ४० हजार खोप सहयोग गरेको छ भने १० हजार खोप पशु अस्पताल तथा पशु सेवा कार्यालय रुकुमपश्चिमले व्यवस्था गरेको छ । 

पशुहरूमा खोरेत रोगविरुद्धको खोप अभियान उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जिल्लामा पशुपालनको राम्रो सम्भावना रहेकाले पशुलाई लाग्ने हरेक खालमा रोगविरुद्ध सचेतनाका कार्यक्रम जरुरी रहेको बताउनुभयो ।