१३ बैशाख २०८१, बिहीबार 1714079922
Banner

प्रधानमन्त्री देउवा एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुग्नुभएको छ । आज बसेको गठबन्धनको बैठकलगत्तै देउवा पत्नी आरजुसहित बालकोट जानुभएको हो ।

गठबन्धनको बैठकमा देउवाले अमेरिकाले दिएको समयसिमाभित्र एमसीसी संसदबाट पास गर्नुपर्ने प्रस्ताव गर्नुभएको थियो । तर, नेकपा माओवादी र एकीकृत समाजवादीका नेताहरु यसमा सहमत भएनन् । बैठक विनानिस्कर्ष सकिएको छ । भोलि ९ बजे फेरि बैठक बस्नै गरि आजको बैठक सकिएको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, काँग्रेस नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, कानुन मन्त्री दिलेन्द्रप्रसाद बडू, नेकपा एसका अध्यक्ष माधव नेपाल, माओवादीका केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी हुनुभएको थियो । गठबन्धनका नेताहरुसँग सहमति जुट्न नसकेपछि समसामयिक राजनीति र पछिल्लो अवस्थाका बारेमा छलफल गर्न देउवा बालकोट जानुभएको हो ।