२५ माघ २०७९, बुधबार 1675870066
Banner

आजबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, कहाँ जान भाडा कति ?

काठमाडौं । यसवर्षको दशैंका लागि आजदेखि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । यातायात व्यवस्था विभागले आजदेखि अग्रिम टिकट बुकिङ खोल्ने बताएको छ ।

यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा पाउनेछन् । बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने विभागले जनाएको छ ।

विभागका महानिर्देशक डा.टोकराज पाण्डेका अनुसार दशैंमा काठमाडौं छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङको सुविधा लिन सक्ने छन् ।यातायात व्यवसायीहरूले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने व्यवस्था मिलाउने सहमति गरेका थिए । अनलाइन टिकट बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीहरुले यथाशक्य छुट वा सहुलियत समेत प्रदान गर्ने गराउने भन्नेमा सहमति भएको थयो ।

अग्रिम टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरूसँग सहकार्य गरी प्रभावकारी अनुगमन गरिने डा.पाण्डले बताए ।

कोभिड १९ को महामारीलाई मध्यनजर गरी मास्कको प्रयोग गर्न लगाउने साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सवारी सञ्चालन गर्ने र यसका लागि यात्रुलाई खाना र खाजा खुवाउने स्थानमा भिडभाड नहुने गरी व्यवस्था गरिने उनले बताए ।

अनधिकृत काउन्टर र परिचय पत्र नभएका व्यक्तिहरुबाट टिकट बिक्री गर्ने कार्यलाई पूर्णतयाः निरुत्साहित गर्ने गराउने योजना पनि छ । मुख्य सडकलाई मर्मत सम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सडक विभागलाई अनुरोध गरिएको डा. पाण्डेले बताए ।

आवश्यक सवारी साधनहरुको व्यवस्था यातायात व्यवसायीले गर्ने र यातायात आवागमनमा सहज बनाउन खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने बाहेकका ट्रेलर लगायतका ठूला सवारी साधनहरु मिति १५ असोजदेखि २२ गतेसम्म नारायणगढदेखि काठमाडौंसम्म सञ्चालन गर्न रोक लगाउने निर्णय पनि भएको छ ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने निर्णय पनि भएको छ ।