४ बैशाख २०८१, मंगलवार 1713281353
राजनीति

कांग्रेसको कारबाहीमा परेकाहरुको स्वतन्त्र उम्मेदवारको तयारी

गत स्थानीय तह निर्वाचनमा महोत्तरीमा नेपाली कांग्रेसले टिकट नदिएपछि बागी उम्मेदवार दिएर बर्दिबास नगरपालिका प्रमुखमा जितेका प्रल्हाद क्षेत्री पक्षधरहरुले अहिले स्वतन्त्र पक्षधरको चुनावी छलफल थालेका छन् ।

महोत्तरी क्षेत्र न.१ क मा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र घोडा छापबाट जितेका क्षेत्री पक्षले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कसरी सहभागी हुने भन्ने विषयमा छलफल थालेका हुन् ।

गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेसले नगर सभापति युवराज पोखरेल, प्रल्हाद क्षेत्रीसहितका नेतालाई कारबाही गरेको थियो ।

तर, अहिलेसम्म कारबाही फुकुवा नगरेपछि उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रदेशसभा निर्वाचनमा समेत घोडा छापबाट नै आफ्नो उम्मेदवार बनाउने र प्रतिनिधिसभामा कुनै पाटीलाई सर्तसहित सहयोग गर्ने तयारी गरेका क्षेत्रीनिकट विनोद ढुंगेलले बताए ।

निर्वाचन क्षेत्र न. १ मा अहिले पनि आफुहरुको मत बढी रहेको स्वतन्त्र पक्षधरहरुले दाबी गरेका छन् । ‘हामी बैठक बसेर प्रदेशमा उम्मेदवार उठाउँछौ र संघमा परिस्थिति हेरेर सहयोग गर्छौं,’  नेता ढुंगेलले भने ।

यद्यपि, कांग्रेसले कारबाही फुकुवा गरेमा भने पार्टीको निर्देशनमा लचिलो बन्ने क्षेत्री पक्षधरले संकेत गरेका छन । जिल्ला सभापति नागेश्वर यादवका अनुसार कारवाहीमा परेका नेता, कार्यकर्ताहरुलाई फुकुवा गर्न पहल भइरहेको छ ।