१३ बैशाख २०८१, बिहीबार 1714080334
Uncategorized

पोखरा विमानस्थलमा हवाई यात्रुको चाप बढ्यो

पोखरा  । पोखरा विमानस्थलबाट पछिल्लो हप्ता दैनिक दुई हजार पाँच सयभन्दा बढी यात्रु ओहोरदोहोर गर्न थालेका छन् । 

मौसमी अवस्था सामान्य हुँदा पोखरा विमानस्थल यति बेला बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन भइरहेको छ । 

दैनिक १० घण्टा विमानस्थल सञ्चालन हुँदा पोखरा आवतजावत गर्ने यात्रुको सङ्ख्या बढ्न हुन थालेको हो । पोखरा विमानस्थलबाट साना तथा ठुला गरी ६० वटा हवाई उडान सञ्चालन हुने गर्दछ  । ती मध्ये ३० वटा साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट पनि सञ्चालन हुने गर्दछन् । 

यात्रुको सङ्ख्या दिनहुँ बढिरहँदा हवाई कम्पनी पनि उत्साही देखिन्छन् । पोखरा विमानस्थलबाट काठमाडौँसहित भैरहवा, भरतपुर, नेपालगञ्ज, सिमरा, जोमसोम र विराटनगर हवाई जहाज सञ्चालन हुने गर्दछ भने पर्यटक सयर गराउने हेलिकोप्टर र अल्ट्रालाईट जहाज पनि उडान हुने गर्दछ ।

यस विमानस्थलबाट बुद्ध एयरले दिनमा १५, यतिले ६ वटा, गुण एयरलाइन्सले दिनमा ६ वटा उडान गरिरहेको छ । यसका अलवा यहाँ तारा सहितका अन्य एयरले पनि उडान भर्दै आएका छन् ।

हेलिकप्टर र अल्ट्रालाइट उडानले गर्दा पनि पोखरा विमानस्थल बढी व्यस्त बनाएको छ । 

पोखरा विमानस्थलबाट अल्ट्रालाइटले पोखरा घुम्ने पर्यटकहरूको लागि उडान भर्ने गर्छ भने आकस्मिक, हिमालयन फ्लाइट  तथा अन्य पर्यटकीय स्थल जाने पर्यटकको लागि हेलिकोप्टरले उडान भर्ने गर्दछ ।