६ बैशाख २०८१, बिहीबार 1713467257
Banner

लालपुर्जा वितरण रोक्न भूमि आयोगलाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं –  निर्वाचन आयोगले लालपुर्जा वितरण कार्य तत्काल रोक्न राष्ट्रिय भूमि आयोगलाई निर्देशन दिएको छ ।

आसन्न आमनिर्वाचनमा स्वच्छता र निष्पक्षताका लागि भन्दै आयोगले निर्वाचन सम्पन्न नभएसम्म आफू र आफ्नो मातहतबाट हुने कार्य बन्द गर्न भूमि आयोगलाई बिहीबार निर्देशन दिएको हो ।

आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘आसन्न निर्वाचनमा स्वच्छता र निष्पक्षता कायम राख निर्वाचन सम्पन्न नभएसम्मका लागि आफू र आफ्नो मातहतबाट हुने र भइरहेका जग्गा वितरणसम्बन्धी निवेदन लिने, जग्गा नापजाँच गर्ने र जग्गाको निस्सा तथा लालपुर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरु तत्काल स्थगित गरी सोको यथार्थ जानकारी दुई दिनभित्र निर्वाचन आयोगलाई दिन राष्ट्रिय भूमि आयोग, ताहाचल, काठमाडौंलाई निर्देशन दिएको छ ।’

यस्तै नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहलाई वैदेशिक भ्रमण नगर्न/नगराउन पनि आयोगले निर्देशन दिएको छ । ‘सम्बन्धित आयोजक तथा प्रायोजकबाट सम्पूर्ण खर्चहरू बेहोर्ने गरी स्वीकृत गरिने वैदेशिक भ्रमणबाहेक नेपाल सरकारलाई प्राप्त हुने अनुदान तथा सहयोग रकमबाट र नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको कोषबाट कुनै पनि रकम खर्च हुने गरी गरिने वैदेशिक भ्रमण नगर्न/नगराउन नेपाल सरकार, ७ वटै प्रदेश सरकार र ७५३ वटै स्थानीय तहहरूलाई निर्देशन दिएको छ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउँदो मंसिर ४ गतेका लागि तय गरिएको छ । उक्त निर्वाचनअन्तर्गत असोज २ र ३ गते उम्मेदवार मनोनयनका लागि समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यक्रम छ ।