१२ बैशाख २०८१, बुधबार 1713980615
पर्यटन

बुद्धमङ्गल ताल क्षेत्र प्राचीन हलिदावसन नगर घोषणा

नवलपरासी । जिल्लाको बर्दघाट नगरपालिका १२ स्थित बुद्धमङ्गल ताल क्षेत्र बौद्धकालीन प्राचीन हलिदावसन नगर घोषणा भएको छ । 

माघ पूर्णिमाको अवसर पारेर बर्दघाट नगरपालिकाले ताल क्षेत्रको अध्ययन गराई प्राचीन कोलिय गणराज्य अन्तरगतको हलिदावसन नगर भएको घोषणा गराएको हो ।

नगरप्रमुख धिरज शर्मा बस्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य दीपेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा प्राचीन नगर घोषणा हुनुका साथै सो स्थानमा निर्माण भएको बुद्ध मूर्तिको अनावरण र बौद्ध भिच्छुहरूलाई भोजन दान समेत गरिएको थियो । 

हलिदावसन कोलिय गणराज्य अन्तरगतको एक समृद्ध नगरको रूपमा रहेको थियो । बुद्धप्रति ती नगरका नगर बासी अत्यन्त श्रद्धालु रहेका थिए । 

सो नगरको स्थापना गर्दा नगर बासीहरू सबैले हरिद्र (हल्दी अर्थात् बेसार)ले रङिएको कपडा लगाएर नगरको स्थापना गर्दा सो नगरको नाम हलिदावसन रहन गएको अट्टकथाहरूमा उल्लेख भएको पाइन्छ । पछि त्यही नाम अपभ्रंश हुँदै अहिले दविला गाउँलाई रूपमा चिन्ने गरिन्छ । यस ठाउँमा अहिले पनि बौद्धकालीन अवशेष र प्राचीन ताल रहेको छ । बौद्ध साहित्यहरूमा उल्लेख भए अनुसार यस गाउँमा भगवान् बुद्ध धेरै पटक पुग्नु भएको थियो । 

त्यस क्रममा एक पटक स्थानीय साधु र बौद्ध भिक्षुहरूबीच केही वादविवाद भए पनि भगवान् बुद्धले मित्त सुत्त (मैत्री सूत्र) सुनाउनु थियो । त्यस सूत्रअनुसार भगवान् बुद्धले भिक्षु र अन्य श्रावक तथा उपासकहरूलाई अनुसरण गर्नु भनी धर्मदेशना गर्नुभएको थियो । जुन मित्त सुत्तमा मैत्री, करुणा, मुदिता र उपेक्षा गरी चार ब्रम्हविहारबारे देशना गर्नुभएको थियो । 

मैत्री, करुणा, मुदिता र उपेक्षा यी  चार ब्रम्हविहार हुन् । ‘ब्रह्म’ शब्दको अर्थ उत्तम, श्रेष्ठ वा दोषरहित हुन्छ । ‘विहार’ शब्दको अर्थ हो— बास गर्नु । मित्त सुत्तको अभ्यासले उत्तम गति मिल्ने हुँदा ब्रम्हचर्य पनि भन्ने गरिन्छ । असङ्ख्य प्राणीलाई मैत्री, करुणा, मुदिता र उपेक्षाको भावना प्रसारण गर्न सकिने हुनाले यिनलाई चार अप्रमाण्य पनि भनिन्छ ।

प्राचीन कोलिय गणराज्य भित्रै यो हलिदावसन भएको कुरा र कोलिय पुत्रलाई समेत उपदेश दिएको कुराले कोलिय क्षेत्र भित्रै यो नगर पर्ने र वर्तमान अवस्थामा पनि यो बुद्ध मङ्गल तालले चिनिएको हो । 

घोषणा कार्यक्रममा अध्येता तथा पत्रकार बेचु गौडले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । १० पृष्टको उतm कार्यपत्रमा यस हलिदवस नगर अर्थात् भगवान् बुद्धले मित्त सुत्त दिएको स्थान बुद्धमंगल ताल क्षेत्रको गुरुयोजना(मास्टर प्लान) नगरपालिकाले  निर्णय गरी कार्यान्वयन ल्याउने,. तत्काल यसको विस्तृत परियोजना प्रतिवेदनसँगै यसको महत्त्व बर्दघाट नगरबासीसंगै वरिपरिका सबै गाउँवासीलाई जानकारी गराउने,. भगवान् गौतम बुद्धको सुत्त पिटक मध्ये अति महत्त्वपूर्ण मित्त सुत्त  नियमित वाचन हुने तथा यस क्षेत्रमा निरन्तर मैत्रीका कार्यक्रम प्रत्येक पूर्णिमामा कार्यक्रमको आयोजना गर्न सुझाव दिइएको छ ।