२२ माघ २०७९, आईतवार 1675580064
कला/साहित्य

‘खैँजडीका तालमा लोकभजन गाउँदा र नाच्दा एकापसमा आत्मीयता बढ्छ’

पछिल्लो समय हराउँदै गएको खैँजडी लोकभजन नाचको संरक्षण र जगेर्ना गर्न र यसको महत्व दर्शाउन अहिले मेलम्ची नगरपालिका–८ का चन्द्रप्रसाद कोइराला समिति नै बनाएर लागिपर्नुभएको छ । सत्तरी वर्षीया कोइराला केउरिनी–दुवाचौर खँैजडी भजन संरक्षण समिति बनाएर लोकभजनको संरक्षण र संवद्र्धनमा लाग्नुभएको छ । उहाँ अहिले मेलम्ची नगरपालिकाभित्र मात्रै नभई सिन्धुपाल्चोक जिल्लाकै विभिन्न गाउँ–गाउँमा पुगिरहनुभएको छ । हिन्दू धर्म–संस्कृतिमा परापूर्वकालदेखि नै प्रचलनमा रहेको लोकभजनमा रामचरित्र, कृष्णचरित्र, महाभारतलागायतका पौराणिक कथालाई लयबद्धरूपमा छोटो टुक्का बनाइन्छ ।

सो टुक्कालाई खैँजडीको तालमा लयबद्धरूपमा गाउँदै नाचिन्छ खैजडी भजनमा । परापूर्वकालदेखि चल्दै आएको संस्कृति पुस्तान्तरण नहुँदा भने समस्या भएको छ । पछिल्लो पुस्ताले सिक्न नचाहेकै कारण खैँजडी लोकभजन सङ्कटमा परेको छ । पुरानो लोकसंस्कृतिलाई बचाउन राज्यस्तरबाटै युवापुस्तालाई प्रेरित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने भजन समूहको भनाइ छ । तर मेलम्ची–७ दुवाचौरका दिनेश पौडेल भने कोइराला बाजेसँगै हिँडेर अहिले कथा भट्याउन सिकिरहनुभएको छ । बाइस वर्षीय पौडेल संस्कृति संरक्षण गर्दै नयाँपुस्तालाई पनि यसको महत्वका बारेमा बुझाउन आफू सक्रियतापूर्वक लागेको बताउनुहुन्छ । भजन गाउनकै लागि समूह बनाएर रातभरि पनि गाउँदै नाचेको अनुभव छ कोइरालासँग । “पहिले भजन गाउँदाका रौनक छुट्टै हुन्थ्यो । सामाजिक सद्भाव र एकापसमा आत्मीयता बढ्थ्यो”, आफ्नो लोकसंस्कृति लोप हुँदै गएकामा उहाँले दुःखेसो पोख्नुभयो, “अहिलेका छोरा नाति आफ्नो धर्म, संस्कृति र परम्परालाई बिर्सेर पश्चिमी संस्कृतिका भड्किला गीतमा रमाइरहेका भेटिन्छन् ।” सत्यनारायण पूजा, व्रतबन्ध, अन्य धार्मिक कार्यमा खैँजडीको तालमा भजन गाएर नाच्ने गरेको उहाँले सुनाउनुभयो । आफ्नो विगत सम्झिँदै कोइरालाले भन्नुभयो, “छोरा–नाति सबैले खैँजडीको तालमा लोकभजन गाउन, नाच्न बिर्सिए । खैँजडी लोकभजन जोगाउनकै लागि भजन समूहलाई साथ दिएको हुँ ।” उहाँको जाँगर र फूर्ति देखेर पनि खैँजडी भजन समूहले उहाँलाई भरपुर साथ दिइरहेका छन् ।

बाउबाजेले मान्दै र मनाउँदै आएका केही संस्कृति पछिल्लो पुस्ता अपनत्व नलिँदा लोपोन्मुख हुँदै छ । गाउँघरमा अत्यधिक रुचाइएका यस्ता संस्कृति पुस्तान्तरणमा अझै समस्या छ । युवावर्गको आकर्षण, चासो, लगनशीलता संस्कृति संरक्षणको तत्कालीन आवश्यकता हुन् । अहिले पनि केही युवाहरूमा यसको चासो भने रहेको पाइन्छ । लोलीमा लोली मिलाउनेहरूको भन्दा पनि अहिले कथा प्रस्तुतकर्ताको अभाव छ । भजन संरक्षणका लागि झ्याली, खँैजडी, मादललगायत आवश्यक सामग्रीको अभाव पनि त्यत्तिकै छ । स्थानीय तहलागायत विभिन्न निकायले यसबारेमा सहयोग गरेमा सजिलो हुने अपेक्षा कोइरालाको छ । खैँजडीसँगै कोइरालासँग बालनटोली पनि छ । विभिन्न चाडपर्व, धार्मिककार्य, विवाह, व्रतबन्धमा परम्परागतरुपमा नृत्य गर्दै आएको बालन नाच बिस्तारै लोप हुँदै जान थालेको छ । अन्य बाह्य गीत, सङ्गीत र संस्कृतिका कारण आफूहरूको बालन नाच लोप हुन थालेकामा बिचारी भारती चिन्तित हुनुहुन्छ । बाजेपुर्खाले परम्परागतरूपमा प्रस्तुत गर्दै आएका बालन नाचलाई निरन्तर दिएर बचाउँदै आए पनि अहिलेका पुस्ताले बालन नाच चटक्कै भुलेकाले संस्कृति लोप हुने खतरा बढेको भारती बताउनुहुन्छ । बालन नृत्य दिनानुदिन लोप हुन थालेको विषयमा मेलम्ची–७ का पिताम्बर भारती त निकै दुःखेसो व्यक्त गर्नुहुन्छ । उहाँले गाउँघरमा सत्यनारायणको पूजा लगाउँदा या विवाह, पास्नी, व्रतबन्ध, मङ्सिरे पूर्णिमा, ठूली एकादशी, रामनवमीजस्ता पर्वमा रात्रिको समयमा रातभरि बालन नृत्य गर्ने गरेको सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ “यस्तो कार्यले बाजेपुर्खाको पालादेखि निरन्तर चल्दै आएको यो संस्कृति बचाउँन सहयोग मिल्छ ।” अहिले यस्ता पर्वमा डिस्को, हिन्दी, अङ्ग्रेजी गीत गुञ्जने र अहिलेका पुस्ता यसैमा रमाउँदा परम्परागत बालन नाच लोप हुँदै गएको स्थानीयवासी भारतीको भनाइ छ । विगतमा बालन नृत्य गर्दा धार्मिकग्रन्थ रामायणको घटनामा आधारित भएर रामायणकै घटनाका कथावस्तुलाई गीत बनाएर पुरुष संयुक्तरूपमा दोहोरो गीत गाउँदै सामूहिक नृत्य गरिने गरेको र बालन नृत्यको रौनक नै अर्कै हुने कुरा संस्कृति संरक्षण समिति सदस्यहरू बताउँछन् ।