१३ बैशाख २०८१, बिहीबार 1714055269
राजनीति

राष्ट्रिय सभाको बैठक बस्र्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे शुरू हुने कार्यसूची छ । यसअघि भदौ २६ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो । स्थगित बैठकलाई सोही समयमै बुधवारका लागि सारिएको सूचना राष्ट्रिय सभाबाट जारी भएको थियो ।

बुधवार बस्ने राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची छ ।

बुधवारको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९लाई सभामा टेबुल गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै विधायन व्यवस्थापन समितिका सभापति डा. बेदुराम भुसालले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७६’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभामा पेश गर्ने सम्भावित कार्यसूची छ ।

बुधवारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।