१३ बैशाख २०८१, बिहीबार 1714088406
Banner

प्रतिनिधि सभा बैठक बस्दै यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पाँचवटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम तथ्यांक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक, स्टान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने पनि आजको बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।