७ बैशाख २०८१, शुक्रबार 1713548536
पालिका

बहालवाला जनप्रतिनिधिले उमेदवार बन्न अनिवार्य राजीनामा दिनुपर्ने

काठमाडौं – आगामी वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरिसकेको छ । आयोगले फागुन ५ गतेआज देखि १५ सम्म दल दर्ताका लागि आह्वान गरेको हो ।

बाहलवाला जनप्रतिनिधिले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न चाहे पदबाट राजीनामा दिनुपर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा जनप्रतिनिधिले पदबाट राजीनामा दिएपछि मात्रै उमेदवार बन्न पाउने व्यवस्था गरेको छ ।

आयोगका अनुसार आचारसंहितालाई अन्तिम रूप दिने काम भइरहेको छ । आचारसंहिता भने केही समयपछि मात्रै जारी हुनेछ । त्यस्तै आयोगले उमेदवार बन्नका लागि बेरुजु र पेस्की फर्छ्योट भएको हुनुपर्ने व्यवस्था आचारसंहितामा गर्न लागेको छ।

‘कुनै उमेदवारी दिने व्यक्तिले आफ्नो नाममा कायम भएको तिर्नु बुझाउनुपर्ने बेरुजु फर्छ्योट गरिसकेको हुनुपर्ने छ । आफूले कुनै सरकारी निकायमा लिएको पेस्की फर्छ्योट गरिसकेको हुनुपर्नेछ’ निर्वाचन आयोगले जनाएको छ ।’

बेरुजु र पेस्की फर्छ्योट स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मात्रै नभएर प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि लागू गर्ने आयोगको तयारी छ।

‘प्रतिनिधिसभा र प्रदेशसभाको हकमा भने संविधानमा नै राजीनामा दिनुनपर्ने भन्ने व्यवस्था गरेको छ। तर, पेस्की पर्छ्योट गर्नुपर्ने र बेरुजु फर्छ्योट गर्नुपर्ने कुरालाई ती पदमा समेत लागू हुन्छ,’ आयोगले बताए अनुसार, ‘मनोनयन दिँदा मेरो नाममा कुनै किसिमको पेस्की बेरुजु बाँकी छैन भनेर घोषणा गर्नुपर्छ ।

बेरुजु र पेस्की फर्छ्योट गरेको स्वघोषणा गरे पुग्ने व्यवस्था गर्न लागिएको छ । कसैले फर्छ्योट नगरेकोमा उजुरी परे कारबाही हुने आयोगले जनाएको छ।