२५ माघ २०७९, बुधबार 1675872991
Banner

देश बनाउन एमालेको सूर्य चिन्हमा भोट हाल्नू : अध्यक्ष ओली

विराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बचाउन र देशलाई बर्बाद हुनबाट बचाउन एमालेको सूर्य चिन्हमा भोट दिन आह्वान गर्नुभएको छ ।

मोरङको विराटनगरमा आज आयोजित नेपाल बुद्धिजिवी परिषद् १ नम्बर प्रदेशको प्रथम प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देश बचाउने र बनाउने कामको नेतृत्व एमालेले मात्रै गर्न सक्ने बताउनु भयो ।

अध्यक्ष ओलीले नेपाली जनताले मात्रै देश बचाउन सक्ने र त्यसको नेतृत्व एमालेले मात्र गर्न सक्ने बताउनुभयो । देश बनाउने नेतृत्व गर्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा एमालेले बहुमत ल्याउनैपर्ने बताउनुभयो ।

भन्नुभयो, ‘नेपाली जनताले मात्र देश बचाउन सक्छ र त्यसको नेतृत्व एमालेले गर्नुपर्छ, त्यसका लागि एमालेले बहुमत ल्याउनुपर्छ बहुमत ल्याउन सजिलो छैन तर बहुमत ल्याएरै छोड्नुपर्छ, त्यसर्थ म सबै नेपालीलाई देश बचाउन, देशलाई बर्बाद हुनबाट जोगाउन सूर्य चिन्हमा मत दिन, एमालेलाई विजयी बनाउन र एमालेको सरकार बनाउन सहयोग गर्न आह्वान गर्छु ।’

एमालेले आफ्ना लागि नभएर देश, जनता र लोकतन्त्रका लागि जित्नैपर्ने बताउँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘मंसिर ४ को चुनाव एमालेका लागि होइन देशका लागि हो, यस चुनावमा एमाले हार्नु हुनँदैन, एमाले हार्‍यो भने देश हार्छ, जनता हार्छ, लोकतन्त्र हार्छ, अहिलेको अधोगितलाई एमालेले मात्र रोक्न सक्छ, यसलाई अड्याउने तागत एमालेको बहुमतको सरकारसँग मात्र हुन्छ ।’

भावनामा बगेर देश नबन्ने भन्दै उहाँले सही अठोट र नीतिबाट मात्र देश बन्ने बताउनुभयो ।