८ बैशाख २०८१, शनिबार 1713610288
Banner

गगन थापाजी, बीपीको राष्ट्रवादको हुर्मत लिन सुहाउँछ ?

खड्क्यो ऐले मुलुकभर नै दिव्य तिम्रो विचार
लेऊ श्रद्धा सुमन मन यी स्नेहले बारबार
कोषराज न्यौपाने बीपीप्रति श्रद्धान्जली ०७९ भाद्र २४

सेवा निवृक्त प्राध्यापक तथा लोकतान्त्रिक निष्ठाका पर्याय कोषराज न्यौपानेले उक्त श्रद्धान्जली कवितामा उल्लेख गरेझैँ बीपी कोइरालाको अभाव अहिले धेरै खड्किएको छ । न्यौपानेले उल्लेख गरेको बीपीको दिव्य विचार नेपाल राष्ट्रको भाग्य र भविष्यसित सम्बन्धित छ । हुन पनि बीपी कोइरालाले नेपाल राष्ट्रको स्वतन्त्र, स्वाधीन र अखण्डतालाई सर्वोपरि राख्नु भएको थियो । उहाँलाई प्रधानमन्त्री र नेपालको पहिलो राष्ट्रपति सम्मको लोभ देखाएर नेपालको अस्तित्व समाप्त पार्न खोजिएको विभिन्न तथ्यहरुले बताउँछन् । तर यस्तो अत्यन्त अमूल्य राष्ट्रिय बिरासद् बहन गरेको अहिलेको काङ्ग्रेस बीपी कोइरालाकै नाम भजाएर काङ्ग्रेस भएको स्वाङ गरिरहेको छ । यही स्वाङमा भ्वाङ पारेर अतिवादीहरुको आडमा देशलाई पाताल धसाउन उद्यत छन् । त्यसैले बीपीको नाम जपेर बीपीकै आदर्श विपरीत चलिरहेको निरीह अवस्था देखिँदा सशक्त भनिएका गगन थापा,विश्वप्रकाश शर्मा,गुरु घिमिरे डा. डिला संग्रौलाहरु किन मौन र मूकदर्शक ? झिँगासित सहकार्य गरेपछि रछ्यानमा बास हुन्छ भनेर सजिलै बुझिने कुरा हो । पूर्व माले वा एमाले पार्टीसित सहकार्य गर्दा कांग्रेसलाई कहीँ पनि नोक्सान भएन । तर पनि गुरु घिमिरे लगायत नेता कट्टीधारीलाई भन्दा मल्हम पट्टीधारी कम्युनिस्टलाई झन् खराव पो भन्दा रहेछन् । जबज मार्फत् स्वस्थ्य प्र्रतिस्पर्धा गर्दै समुन्नत लोकतन्त्रका लागि प्रतिबद्ध पार्टीलाई समेत अनावश्यक कटाक्ष गर्दा प्रबुद्ध वर्गले के भन्ला ? गगन थापा संसद्मा प्रभावशाली देखिन्छन् । तर आफ्नै पार्टीमा बीपको राष्ट्रवादको चिहान खन्न खोज्दा किन हस्तक्षेपकारी भूमिका निर्वाह गर्दैनन् ? ढिलोचाँडो सरकार र सत्ता त हातलागी हुन्छ नि अहिले नै सबैथोक सक्कियो भनेर भारतेली शाषकका दुई भरियाका भरमा कति दिन उफ्रिने हो । यी त बाँसका खुट्टा हुन् ¥ यत्ति पनि थाहा नपाउने कांग्रेस के कांग्रेस ? नेहरु लगायत तत्कालीन भारतेली शाषकले नेपाललाई हेर्ने खोटो नियतबाट जननायक बीपी कोइराला सतर्क हुन थाल्नु भयो । अझ नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भएको आफूलाई समेत आफ्नो अरौटे मानिस सरह नेहरुले व्यवहार गरेपछि बीपी अत्यन्त सतर्क हुन थाल्नु भएको अध्ययनबाट स्पष्ट हुन्छ । यसले गर्दा उहाँले नेपाल राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न थाल्नु भयो । यसका कारण कोइराला भारतेली शाषकको निगरानीमा पर्नु भयो । प्रधानमन्त्री बीपीलाई नै निगरानी गर्न नेहरुले तत्कालीन गृहमन्त्री सूर्य प्रसाद उपाध्याय लगायतलाई खटाएको अध्ययनबाट स्पष्ट हुन्छ ।

वरिष्ठ पत्रकार जगत नेपालले बीपी,जीपी र गणतन्त्र (२०७४ जेठ १३ गते एक पत्रिकामा प्रकाशित ) नामको एक लेखमा २०३६ सालको जनमत संग्रहको घोषणा हुनुभन्दा अघि बीपी कोइरालाको निवास जय बागेश्वरीस्थित निवासमा गएर एक प्रभावशाली व्यक्तिले राजालाई हटाएर पहिलो राष्ट्रपति बन्न उहाँलाई उक्साउँदै उपयोग गर्न खोजेको बताएका थिए । तर बीपीले यस्तो संवेदनशील विषयमा आफूलाई ४८ घण्टाको समय माग्नुभयो तर कुनै काङ्ग्रेसीसित यो कुरा बताउनु भएन बरु उल्टो यस बीचमा राजा बीरेन्द्र शाहसित भेटघाटको संयोग मिलाइयो । र रातारात जनमत संग्रहको घोषणा गरिएको देखिन्छ ।

भारतीय वरिष्ठ पत्रकार आनन्द स्वरुप वर्माको दिल्लीबाट हेर्दा बाम एकता शीर्षक लेख (२३ असोज २०७४ कान्तिपुर) मा भारतीय शाषक वर्ग नेपाल आर्थिक दृष्टिले आत्म निर्भर भइहाल्छ कि भन्ने कुरामा बढी चिन्तित रहेको उल्लेख छ । भारतीय तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले भारत भ्रमणमा गएका नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई गम्लङ्ङ अँगालो हाल्दै उनलाई दक्षिण एशियाका महान् नेता भनेका थिए । तर त्यसको केही महिनापछि उनै सिंहले कोइरालालाई भेट नै दिएनन् ।

प्रा.डा.युवराज सङ्ग्रौलाले युरोपलाई कमजोर नेपाल चाहिन्छ (अन्नपूर्ण (पोस्ट दैनिक २०७५ चैत्र १६ ) लेखमा नेपालको पूर्व क्षेत्रमा मात्र यस्ता (बहुराष्ट्र, जातीय विद्वेष वृद्धि गर्न, खस आर्य जाति र हिन्दू धर्म विरुद्ध ) यस्ता संस्थाहरुलाई २३ अर्ब लगानी भएको देखिन्छ पनि भने । उनले सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन पनि लेख लेखे तर उनै संग्रौला देश जोगाउने र संविधानका भावना भन्दा अक्षर जोगाउन ज्यान फालेर लागि परे । यिनै श्रृङखलाबद्ध सिलसिलका कारण देशमा भद्गोल स्थिति तयार पारियो र यसैमा छिरेर देशलाई गोल गर्ने दुष्कृत्य हुन खोज्दैछ । र यसको मूल कारणी पुष्पकमल दाहाल उर्फ प्रचण्ड हुन् र यसका प्रबल समर्थक माकुने हुन् । दाहाल उनका आफ्नै अनेक दुष्कर्मका मुद्दाबाट चौघेरमा परेका छन् । एक त उनले भारतीय शाषकसित भारतका अहितमा कुनै पनि काम गर्नेछैन भनेर लिखित तमसुक नै गरेका छन् र अर्कातिर आफूले मालिकहरुसित गरेका बाचा र कबुल अनुसार काम नगर्दा अन्तराष्ट्रिय अदालत हेग जानु पर्ने उनको अवस्था देखिन्छ । यी कुराहरु प्रा.डा. भाष्करदत्त पन्त लगायत धेरै विज्ञ र विश्लेषहरुले बारबार उल्लेख गरेकै छन् । त्यसैले प्रचण्डलाई देशको भन्दा आत्मसुरक्षाको चिन्ता मात्र छ ।

अर्कातिर माकुनेको नियत बारे राधाकृष्ण मैनालीले नै खुलासा गरिदिएका छन् । उनका अनुसार माकुनेले २०४६ सालको पूर्व सन्ध्यामा भारतीय शस्त्रधारीको सहयोगमा राजतन्त्र समाप्त पार्ने गुरु योजनामा थिए । यस्तायस्ता संगतियाका भरमा पर्दा नेपाली काङ्ग्रेसको उँधोमति बाहेक केही हुनेवाला छैन । .वरिष्ठ पत्रकार तथा लेखक सुधीर शर्मा १० वर्षपछिको नेपाल कस्तो होला ? ( कान्तिपुर २०७३ फागुन २७ ) लेखमा नेपाल स्थित भारतीय राजदूत रन्जित रायले बिदाइका अवसरमा आगामी दस वर्षमा नेपाल रसातलमा पुग्ला कि नपुग्ला भनेको विषय उल्लेख छ ।

नेपाल अहिले चाहिँ पश्चिमा शक्तिको गिद्धे नजरमा परेको छ । दुई ठूला विश्वशक्तिको बीचमा रहेको नेपालको असंलग्न भूमिकाले सम्भावित तेस्रो विश्वयुद्धलाई रोक्न सक्छ । कुशल, सबल र स्वतन्त्र भूमिकाले मात्र देश र विश्वकै हित हुन्छ । नत्र अहिले युक्रेनको जस्तो मात्र होइन त्यो भन्दा भयावह अवस्था देशमा आउन सक्छ । उहिले बीपीलाई भन्दा पनि धेर बाह्य शक्तिको निगरानी र नियन्त्रण ओलीउपर देखिन्छ । ओली सरकारका कामले पश्चिमा शक्तिको होस उडेको छ । यस्तै खालको सरकार,शक्ति र पार्टी रहने हो र नेपालको प्रगति हुने हो भने उत्तरतिर प्रहार गर्ने अनकूल परिस्थिति हुने छैन ।,तसर्थ हेर्ने पर्खिने गर्दै सकेसम्म साम,दाम,दण्ड र भेद नीति अनुसार काबुमा राख्ने नत्र आन्तरिक विग्रह गराएर समाप्त पार्ने योजना देखिन्छ । यसका लागि नेकपाभित्र प्रचण्ड र माकुनेको प्रपञ्च रचिएको थियो ।

यही प्रपञ्च अन्तर्गत प्रचण्डले ओलीलाई राज्यको फौजदारी कानुनन नै आकर्षित हुने र त्यस अनुसार कार्यवाही गरिने सम्मको ११ पन्ने आरोप लगाएका थिए । यसलाई ओली आफैँले उल्लेख गरे अनुसार …आफूलाई लगाएका आरोपहरु मुलुकको संविधान र कबानुन आकर्षित हु्ने गरी फोजदारी प्रकृतिका आरोप समेत लगाउनु भएको लिखित रुपमा ओलीले उल्लख गर्नु भएको छ । १३ मंसीर २०७७ । पृ.२२। सबै कुरा उल्लिखित छ । प्रसंगवस ओलीले आफ्नो प्रस्तावमा प्रसंगबस दुई लाइनको संघर्षलाई वर्ग संघर्ष का रुपमा अतिरञ्जित गर्ने,र असहमत पक्षलाई शत्रु घोषणा गर्ने र राजनीतिक एवं सांगठनिक रुपमा समाप्त पार्ने घटना कम्युनिस्ट पार्टीमा देखा परेको स्मरण गराउँदै, कसैलाई लिन प्याओ प्रवृत्ति त कसैलाई अर्को कुनै ट्याग लगाइदिएर राजनीतिक र भौतिक रुपमै समाप्त पारेका घटना पनि हामीले सुन्दै आएको विषय समेत ओलीले उल्लेख गर्नुको गुह्य बुझ्न सकिन्छ । देशलाई समाप्त पार्नु अघि देशभक्तलाई र त्य खालको विचारलाई ठेगान लगाउने कलुषित उद्देश्य प्रतिक्रियावादीले बोकेको हुन्छ भन्ने घटनाहरु पनि नभएका होइनन् ।

ब्राजिलमा राष्ट्रपतिमा निर्वाचित बामपन्थी दिल्मा सफेल लुलाले दशकौँपछि ब्राजिलमा सबैभन्दा राम्रो अर्थव्यवस्था चलाएका थिए । उनले भ्रष्टाचार गरेको प्रमाण नभेटिए पनि विगतदेखि नै भ्रष्टाचारका कारण बदनाम संसद् र अदालतको सहयोगमा उनको सरकार अपदस्त मात्र गरिएन उनलाई आठ बर्से कारागार चलान गरियो आखिर दोष प्रमाणित नभएपछि लुला रिहा त भए तर बात लगाएर बदनाम गर्ने दुष्प्रयास त गरियो ।

त्यसैले बीपी कोइरालाको १०९ औँ जन्म जयन्तीका दिन बीपी काङ्ग्रेसमा अझै पनि केही न केही चेत पलायो भने देश मात्र होइन विश्व नै सुरक्षित हुनेछ । कुनै पनि वाद विचार र तन्त्र भन्दा देश नै ठूलो हो र यसलाई सर्वोपरि राख्ने बीपी चेत,चिन्तन र चरित्र सम्झनेका लागि संवेदनशील हुन्छ । अहिले एमाले अध्यक्ष के.पी. ओलीलाई कम्युनिस्ट नेता मोहन विक्रम सिंह र राजनैतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीसमेत असंयमित रुपमा फतुर आरोप लगाउँदैछन् । राष्ट्रघाती र जनघातीहरु संगठित हुन थाले पछि देशभक्तहरुलाई सकेसम्म खोजी खोजी अस्थायी रुपमा भए पनि समेटेर अगाडि नबढी हुँदैन । धर्म चाहिँ रहोस्,संघीयता रहोस् तर देश नरहोस् भन्ने मति र गतिका लिलिपुटहरु बीपी र केपीलाई सजिलै बुझ्दैनन् । सूचनाको सातपत्र केलाउँदा मात्र वास्तविकता थाहा हुन्छ ।

(लेखक एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुन् । )