८ बैशाख २०८१, शनिबार 1713651325
Banner

राजनीतिमा नयाँ विकास : एमसीसी पनि पारित नहुने, गठवन्धन पनि टुट्ने सम्भावना

काठमाडौं – जसरी पनि एमाले र अझ अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर बनाउने मिसन बनाएका प्रचण्ड र माधव नेपाललाई अन्ततः ‘बुमेर्याङ’ हुने देखिएको छ ।


निर्वाचन जाँदा एउटा पनि सिट जित्न सक्ने जनमत नभएको बुझेका उनीहरुले सकेसम्म देउवासँगको गठवन्धन कायम राख्ने भगीरथ प्रयास गरिरहेका छन् । ओलीबिरुद्ध घात गरेर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दा नै देउवाले राखेको एमसीसी पास गर्ने शर्तमा सहमति जनाएका थिए । तर प्रचण्ड र माधवकै आग्रहमा एमसीसी पारित गर्ने लिखित सम्झौता गरिएको थिएन ।
कांग्रेसका एक नेताका अनुसार, त्यसबेला एमसीसी पारित गर्न तयार रहेको र त्यसबारे आवश्यकपर्दा अमेरिकालाई लिखित र मौखिकरुपमा आश्वस्त आफूहरुले पार्ने प्रचण्ड र माधवले देउवालाई विश्वास दिलाएका थिए । त्यहीभएर एमसीसी संसदबाट पारित हुनेमा देउवा ढुक्क थिए । तर फागुन १६ सम्ममा पारित गर्ने लिखित प्रतिवद्धता सार्वजनिक भएपछि दवावमा परेका प्रधानमन्त्रीले अघि बढाउन खोज्दा गठवन्धनका प्रचण्ड र माधवले भने चरम अवसारवादी र धोकाधडीको बाटो लिएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी टेवुल भए वा नभए दुवै अवस्थामा प्रमुख प्रतिपक्षी एमालेले सदाझैं आफ्नो विरोध कायमै राख्ने नीति लिएको छ । एमाले प्रमुख सचेतक बिशाल भट्टराईका अनुसार, एमालेका ९७ जनै सांसद बैठकमा उपस्थित भएर सभामुखको पूर्वाग्रही राजनीतिको विरुद्ध विरोध गर्नेछन् । एमालेले आफूले निकालेका १४ जनालाई कारवाही नगरेको भन्दै सभामुखको विरोध गरिरहेको छ । एमसीसी आओस् वा नआओस् उक्त विरोध कायम रहनेछ ।
‘हामी संसदमा उपस्थित भएर हाम्रो विरोध कायम राख्छौं । विरोधका बीच एमसीसी पारित गर्ने हो भने पारित गर्ने पक्षमा संसदमा उपस्थित संख्यामा बहुमत पुर्याएर पारित गर्नुपर्छ’ उनले सूचनाप्रेससँग भने । प्रचण्ड र माधवले गठवन्धन कायम राखेर एमसीसी पारित गर्ने विश्वास देउवालाई दिलाएपनि उनीहरुकै पार्टीमा पारित गर्ने भन्दा नगर्नेको संख्या बढी छ । त्यसैले निर्णय लिन सकेका छैनन् । देउवासँगको मंगलवारको वार्तामा, आफूहरु अनुपस्थित भएर पास गर्न देउवालाई सहयोग गर्ने बताएपनि एमालेले विरोध गरिरहँदा अर्को पक्षमा बहुमत पुग्ने देखिदैंन । तर यो दोहोरो नीति सार्वजनिक भएलगत्तै प्रचण्ड र माधवमाथि संसदमा उपस्थित भएरै एमसीसीकोे विपक्षमा मतदान गर्न दवाव बढेको छ ।
माधव निकटका एक सांसदले सूचनाप्रेससँग भने – ‘सत्तामा पनि बस्ने, एमसीसी पारित नगर्ने भन्ने नैतिकहिन राजनीति हामीले गर्नुहुँदैन । सत्ता गठवन्धन तोडेर एमसीसीको विपक्षमा मतदान गर्नुपर्छ ।’ उता, एमाले पनि अव एमसीसी पारित गर्ने पक्षमा उभिने सम्भावना छैन । श्रोतका अनुसार, देउवाले एमसीसी पारित गर्न एमाले अध्यक्ष ओलीसँग सहयोग मागेका भएपनि अव ढिलो भइसकेको र एमालेले सहयोग गर्न नसक्ने सन्देश देउवालाई दिएका छन् ।
अध्यक्ष ओलीमाथि एमसीसी पारित नगर्न आन्तरिक दवाव पनि बढीरहेको छ । प्रतिपक्षीसँग संवादनै नगर्ने, छापामार शैलीमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याउने सत्तागठवन्धनका षड्यन्त्रमूलक कदम एमालेबिरुद्ध लक्षित भएको बुझाई पार्टीका नेताहरुको छ ।
कांग्रेसले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ भने सत्तारुढ गठवन्धनका माओवादी, समाजवादी र जसपाले निर्णय गर्न सकेका छैनन् । सम्भवत ती दलले आज निर्णय लिनेछन् । एमालेले भने सत्तागठवन्धनको निर्णयको आधारमा मात्रै एमसीसीवारे निर्णय लिनेछ ।
कांग्रेसकै एक नेताका अनुसार, प्रचण्ड र माधवको लहलहैमा लागेर देउवा थप समस्यामा फसेका छन् । एमालेलाई किनारामा धकेलेर एमालेकै सहयोगमा एमसीसी पारित गर्ने ठान्नु नै गलत भएको र कांगे्रसले अडान लिन नसक्दा चुनावमै समस्या पर्ने अवस्था आउँदै गरेको उनको बुझाई छ ।