६ बैशाख २०८१, बिहीबार 1713423702
Banner

डा.केसीले चिन्न नसकेका अगम्य ओली

प्रा.डा. सुरेन्द्र केसीले अध्यक्ष के.पी. शर्मा ओलीलाई किन छँदाखाँदाको दुई तिहाइ बहुमतको सरकार सहित छबटै प्रदेश सरकार गिराउनु भएको होला । यस्तो आत्मघाती काम किन ओलीले गरेको होला । अर्को कसैलाई खुरुक्क छाडिदिएको हुन्थ्यो । यो कुरा मैले आजसम्म पनि बुझ्न सकेको छैन भनेर एक अन्तर्वार्तामा केसीले भने । हुन पनि माथिदेखि संसद् विघटन पश्चात् गठबन्धन सरकार बनेसँगै प्रदेशसम्मको एमालेको सरकार विघटित भयो । यसकारण आफूले ओलीलाई बुझ्न नसकेको डा. केसीको धारणा रहेछ ।

सच्चा देशभक्त नेताले कुन कुरालाई महत्व दिने भन्ने कुराको ठूलो अर्थ रहन्छ । सत्ता,सरकार, पद र प्रतिष्ठालाई भन्दा राष्ट्र राष्ट्रियता सर्वोपरि हुन्छ राखिन्छ । त्यसैले देशभक्तहरु आफ्नै अनमोल जीवन कुर्वान गरेर राष्ट्रलाई बचाउँछन् । अहिले जस्तो तीन तीन महिने मन्त्रीको पालो लगाएर खाएको भए पनि हुन्थ्यो तर गरिएन र गर्नु जाती लागेन ।

जननायक बी.पी.कोइराला फाँसीको फन्दामा झुण्डिन तयार भएर मेलमिलाप नीतिका साथ भारत प्रवासबाट त्यसै नेपाल आउनु भएको होइन । एमाले अध्यक्ष ओलीले पहिले र पछि पनि भारतीय चरम हेलाहोचो विरुद्ध लिएको नेपाल नेपाली हितको चट्टानी अडान भारतेली शाषकलाई अजीर्ण भएको थियो । उहाँलाई सकेसम्म पार्टी र सरकार दुवै पदबाट विमुख गर्न र गराउन पार्टीभित्र नै अन्तर्विरोध चर्काउन खोजेको कुरा जगजाहेर छ । त्यति मात्र नभएर उहाँलाई गोप्य रुपमा अनेक धाक र धम्की पनि नआएका होइनन् । तर पनि ओली आफ्ना अडानबाट टसको मस हुनुभएन । तर कुरा बाझ्नु मान्छे नबाझ्नु भनेझैँ ओली जोसित र अझ मित्र राष्ट्रसित मैत्री पूर्ण सम्बन्ध स्थापित र विकसित गर्न खुल्ला दिलले लागि पर्नुहुन्छ । उहाँलाई हेर्दा हिजोका दिनमा खरो बोल्ने मान्छे उहाँ नै हो के भन्ने लाग्न सक्छ । एसडी मुनिले पनि भारतेली शाषकलाई ओलीबाट धेरै सतर्क र सावधानी अपनाउन सल्लाह दिएको पाइन्छ । ओलीले गर्नु भएका कतिपय काम परिणामबाट चाहिँ छर्लङ्ग हुन्छ । उहाँले आफूलाई पछिल्लो पटक प्रधानमन्त्रीबाट हटाउन एक समय काठमाडौँमा बाह्य शक्ति राष्ट्ररुका उच्च ओहदाका व्यक्तिहरुको जमघट रहेको बताउनु भएको थियो । यिनै व्यक्तहरुसित गोप्य साँठगाँठ गर्न पुष्पकमल दाहाल र माकुनेहरु हातमा टोपी बोकेर दौडिएको बताउँदा कतिपय प्रबुद्धहरुले ओलीको तीखो आलोचना गरेका थिए । ओलीले परामादेशबाट बनेको मन्त्री मण्डल भारत अनुकूलको वा कन्फर्टेबल भन्नु भयो यसमा मानिसले उहाँदाई कटाक्ष नै गरे तर आखिर परिणामले उहाँको भनाइलाई सत्य सावित गरिदियो । फेरि अर्को कुरा प्रचण्ड र माकुने कुन हदसम्म गिरेर ओली विरोधी अभियानमा लागेका रहेछन् भन्ने कुरा ओलीलाई पार्टीको साधारणबाट निष्काशन गर्नु र उहाँलाई भौतिक र राजनीतिक रुपमा समाप्त पार्ने सम्मका योजवना रचिएको तथ्यबाट अवगत हुन्छ । ओलीका अनुसार प्रचण्ड समूहले जुन खालका संगीन आरोपहरु आफूमाथि लगाएको छ ती आरोपहरु राज्यको कानून नै आकर्षित हुने खालको रहेको आफ्नो प्रतिवाद पत्रमा उल्लेख गर्नु भएको छ । प्रचण्ड समूहले आफूलाई लगाएका आरोपहरु मुलुकको संविधान र कानुन आकर्षित हु्ने गरी फोजदारी प्रकृतिका रहेको लिखित रुपमा ओलीले उल्लेख गर्नु भएको छ । के..पी.शर्मा ओली पार्टी सचिवालयमा ( प्रस्तुत प्रस्ताव,१३ मंसीर २०७७ । पृ.२२। ) प्रस्तुत प्रस्तावमा सबै कुरा उल्लिखित छ ।
प्रसंगवस ओलीले आफ्नो प्रस्तावमा प्रसंगबस दुई लाइनको संघर्षलाई वर्ग संघर्ष का रुपमा अतिरञ्जित गर्ने, र असहमत पक्षलाई शत्रु घोषणा गर्ने र राजनीतिक एवं सांगठनिक रुपमा समाप्त पार्ने घटना कम्युनिस्ट पार्टीमा देखा परेको स्मरण गराउँदै , कसैलाई लिन प्याओ प्रवृत्ति त कसैलाई अर्को कुनै ट्याग लगाइदिएर राजनीतिक र भौतिक रुपमै समाप्त पारेका घटना पनि हामीले सुन्दै आएको विषय समेत ओलीले उल्लेख गर्नुको गुह्य बुझ्न सकिन्छ ।

यी सब प्रयत्नमा सफल नभएपछि नग्न रुपमा न्यायालय प्रयोग गरेर ओलीलाई प्रधानमन्त्रीबाट हटाएको तथ्य सबका सामु छर्लङ्ग नै छ । सकेसम्म यस्ता काम प्रचण्ड आफैँ सम्पन्न गर्न चाहन्थे । उनी नै प्रधानमन्त्री भए ओली विरुद्ध राज्य शक्तिको चरम दुरुपयोग गरेर के के गर्थे गरिसक्थे होालन् । यी कुरा सबै चरम ओली विरोधी दाहालका गतिविधिबाट स्पष्ट हुन्छ । तर जबान अभिमन्युले बन्न लागेको चक्रव्यूह नै तोडिदियो, सब योजना भताभुङ्ग पारिदियो । एउटा देशभक्तको भौतिक र राजनीतिक जीवन तलबितल पार्दा देशकै अस्तित्वमा धक्का पर्छ । यो कुरा दुरदर्शी व्यक्तिले मात्र बुझ्छ, गुच्चा आँखाले देख्दैन । जननेता मदन भण्डारीको बेपर्वाह जीवनशैली पनि उहाँको रहस्यपूर्ण हत्याको कारण हो भन्न मेरो ठम्याइ छ । प्रभावशाली नेता नहुँदा देशलाई नै कति घाटा हुन्छ भनेर सोच्नुपर्छ । नडराउनु तर डर राखेर काम गर्ने मान्छे र नेता हर्दम सतर्क हुन्छ । घोडाले सदा एउटा खुट्टा राम्ररी टेकिरहेको हुन्न । कति खेर के पर्छ घोडा हर्दम एउटा उचालेर आकस्मिक प्रत्याक्रमणका लागि तम्तयार भइरहन्छ । कोही पनि आइलाग्यो भने तुरुन्त आफूलाई आक्रमण गर्नेको पहिले नै दाँत झारिदिन्छ । कुराको चुरो यही हो । त्यसैले डा. केसीले मात्र होइन धेरैले हत्तपत्त अगम्य ओलीलाई चिन्न सक्तैनन् ।

डा. केसीले पनि एकभेटको प्रसंग उल्लेख गर्दै ओलीमा देशका प्रति कुनै चिन्ता नभएको बताउँदै थिए । तर केसीलाई के थाहा ओली देश र जनताका लागि चिन्ता होइन चिन्तन गर्नु हुन्छ र अहोरात्र खटेर र माटो भएर सकेसम्म देश र जनताका लागि हित उत्थानका लागि ऐनमौकामा इमान्दार प्रयास गर्नु हुन्छ । तर कामै नगरी चिन्ता मात्र गरेर समय गुजार्ने नेता ओली होइन । कतिपय लिलिपुट नेता जस्तो स्वाँगे देशभक्ति ओलीको हुँदै होइन र छैन । देशभक्ति वास्तविकता र यथार्थ हो जो देखाउन गरिँदैन ।

डा. सुरेन्द्र केसी ओलीका विषयमा सन्तुलित र सही धारणाहरु राख्छन् । तर कहिले काहीँ सबैको देखिन अलिअलि ओली सहित सबै नेता उस्तै पनि भनिटोपल्छन् । सरदर सतही प्रा.डा.र लेखक जस्तो सरासर असत्य र अपराधको परोक्ष समर्थन केसी गर्दैनन् । प्रा.डा. अभि सुवेदी ओलीका चाहिँ सकारात्मक कुरा र काम पटक्क देख्नु हुँदो रहेनछ । उहाँ त लेन्डुप मेरो विद्यार्थी पो भन्न रुचाउनु हँदो रहेछ । कसैले पनि गरेका राम्रा कामलाई राम्रो नभन्ने कसम खाएका बुद्धिजीवी प्राज्ञ चाहिँ यस देशको अधोगतिका मूल कारण हुन् । तन,मन र धन दिएर देश र जनताका लागि मरिमेटेर लागे पछि देशका बारेमा चिन्ता मात्र गरेर हुँदैन डा. के.सी ।
प्रतिक्रियावादीहरु कति सम्म निर्लज्ज, निवस्त्र र कुरुप हुन्छन् भन्ने कु्रा केही उदाहरणबाट स्पष्ट हुन्छ । समाजवादी र कम्युनिस्ट पृष्टभूमिका इमान्दार राष्ट्रपति र प्रधानमन्त्री एउटा एउटा गम्भीर बात लगाएर जेलमा पनि थुन्छन् र देशवासीका नजरमा बदनाम गराउने प्रपञ्च पनि रच्छन् ।

यस्ता काममा अझ कम्युनिस्टलाई अनेक दवाव र प्रभावमा पारेर कम्युनिस्टलाई तह लगाउन मरिहत्ते गरेर लाग्छन् । प्रचण्डले जस्तो देश मास्न देउपाले लिखित तमसुक गरी कसम खाएको थाहा नपाइएको छैन । त्यसैले अहिले देश र जनताले प्रचण्डसित धेरै सावधान हुनुपर्ने देखिन्छ । यस कुरालाई ओलीले राम्ररी बुझ्नु भएको छ जस्तो लाग्छ । लेन्डुपहरु पनि देश जनताको हितको स्वाँगे कुरा गरेर नै जनता अलमल्याए । ओलीलाई कतिसम्म षडयन्त्र गरेर प्रधानमन्त्रीबाट हटाएको रहेछ भन्ने यथार्थ विवरण महाभियोग लगाएइका पूर्व प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाको वयानबाट अझ स्पष्ट हुन्छ । यी सब कुरा थाहा पाएर पनि सदा ओली विरुद्ध जेहादको जुवा खेल्ने भुसाल अब कुन जुवा नार्छन् हेर्नु छ । चित पनि पट मेरै हो भनेर मात्र कुरा कथुर्ने भुसाललाई जुवा नार्न अब मकैका पनि गेडा कसले देलान् र तर सच्चिएर आए यही लेखक उनलाई पहिलो छड्के सलाम गर्ने छ । समुद्रको त्रिआयामिक आयाम र आयतन जसकसैले थाहा पाउँदैन तर खहरे आवश्यकता भन्दा बढी नै उत्ताउलो हुन्छ । खहरेहरुले ओलीको छेउपुच्छर पनि भ्याउँदैनन् । ओलीका अनुसार डमरुलाई ङयाक्न खोजेपछि बघिनी उग्र हुन्छे । देशकै विरुद्ध लाग्ने कसम खाएर लिखित तरतमसुक गर्नेहरुले देशभक्तलाई कहाँ बाँकी राख्छन्, केसीजी ।

(इटहरी निवासी लेखक एमाले प्रदेश नं.१ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ ।)