११ बैशाख २०८१, मंगलवार 1713910518
Banner

नागरिकता विधेयक फेरि राष्ट्रपतिकहाँ पुग्यो

काठमाडौं । सभामुख अग्नि सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रोपटक राष्ट्रपति कार्यालय पठाउनुभएको छ । सभामुख अग्नि सापकोटाको सचिवालयका अनुसार सभामुखले प्रमाणित गरेर विधेयक राष्ट्रपति कार्यालयमा पठाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयकमा सन्देशसहित गत साउन २९ गते फिर्ता गर्नुभएको थियो। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक फिर्ता गर्दा संघीय संसद्समक्ष जानकारी, अध्ययन र विर्मशका लागि सातबुँदे र ध्यानाकर्षणका लागि भन्दै अर्को आठबुँदे सन्देश पठाउनुभएको थियो । राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता गरे पनि प्रतिनिधि सभा र राष्ट्रिय सभाले विधेयकमा कुनै परिवर्तन गरेन ।

प्रतिनिधि सभाले भदौ २ गते राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो । त्यस्तै, राष्ट्रिय सभाले पनि भदौ १७ गते विधेयक जस्ताको तस्तै पारित गरेको थियो । राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाए पनि विधेयकमा कुनै परिवर्तन भएन । राष्ट्रिय सभाले संसदीय समितिमा पठाए पनि पर्याप्त छलफल हुन पाएन । राष्ट्रपतिबाट फिर्ता भएको विधेयक संघीय संसद्बाट प्रस्तुत रूपमा (जस्ताको तस्तै) वा संशोधनसहित पारित गर्न सक्छ । पुनर्विचार गर्नैपर्छ भन्ने बाध्यकारी छैन ।

राष्ट्रिपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य वामदेव गौतम र विमला राई पौड्यालले पर्याप्त छलफलको माग गरेका थिए । उनीहरूले जस्ताको त्यस्तै पारित गरिनुले राष्ट्रपति कार्यालयको अपमान हुने धारणा व्यक्त गरेका थिए । उनीहरूले आवश्यक छलफल र परामर्शबिना परित गरिएकोमा आपत्ति जनाएका थिए । राष्ट्रिय सभाले विधेयक पारित गरेको जानकारी आइतबार प्रतिनिधि सभालाई पठाएको थियो । राष्ट्रिय सभाको सन्देश प्राप्त भएलगत्तै सोमबारै सभामुख अग्नि सापकोटाले विधेयक राष्ट्रपति कार्यालयमा पठाउनुभएको हो ।