१२ बैशाख २०८१, बुधबार 1713947807
Banner

ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री बन्दै

बेलायतको कन्जरभेटिभ पार्टीकी नेतृ लिज ट्रसलाई प्रधानमन्त्री बोरिस जोन्सनको उत्तराधिकारीका रूपमा उहाँको दलबाट निर्वाचित गरिएसँगै आर्थिक सङ्कटको सामना गर्न ‘साहसिक’ कदम चाल्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । थेरेसा मे र मार्गरेट थ्याचरपछि ४७ वर्षीया ट्रस बेलायतको तेस्रो महिला प्रधानमन्त्री हुनुहुनेछ ।

बेलायती महारानी एलिजाबेथ द्वितीयासमक्ष वर्तमान् प्रधानमन्त्री जोनसनले राजीनामा बुझाएपछि उहाँले औपचारिक रूपमा पदभार ग्रहण गर्नुहुनेछ । विदेश मन्त्री ट्रसले आफ्नो नयाँ जनादेशलाई पुष्टि गर्न राजनीतिक रूपमा खतरनाक समयपूर्व चुनावको दबाबको पनि प्रतिरोध गर्दै ‘२०२४ मा कन्जरभेटिभ पार्टीलाई ठूलो विजय प्रदान गर्ने’ प्रतिज्ञा गर्नुभएको छ । एक लाख ७० हजारभन्दा बढी कन्जरभेटिभ सदस्यले गरेको ग्रीष्मकालीन प्रतिस्पर्धामा ट्रसले आफ्ना प्रतिद्वन्द्वी पूर्व अर्थमन्त्री ऋषि सुनकलाई ५७ प्रतिशत मत ल्याएर पराजित गर्नुभएको हो । “मैले एक कन्जरर्भेटिभ दलको रूपमा अभियान चलाएँ, र म दलको कम कर र व्यक्तिगत जिम्मेवारीको टोरी मूल्यमान्यताहरूप्रति प्रतिवद्ध भई देशलाई नेतृत्व गर्नेछु,” उहाँले भन्नुभयो । ट्रसले कर कटौती र ऊर्जा सङ्कटलाई सम्बोधन गर्न ‘साहसिक योजना’ को प्रतिज्ञा गर्दै आगामी दिनमा यसको विस्तृत योजना अघि सार्ने बताउनुभएको छ ।

यसैबीच प्रधानमन्त्री जोनसनले ट्रसलाई निर्वाचित भएकोमा बधाई दिँदै ट्वीटरमा लेख्नुभएको छ, “मलाई थाहा छ कि उहाँसँग जीवनयापनको लागतको सङ्कटको सामना गर्ने, हाम्रो पार्टीलाई एकताबद्ध गर्ने र हाम्रो देशलाई एकताबद्ध गर्ने र समावेशी बनाउने महान् कार्यलाई जारी राख्ने सही योजना छ ।” उहाँले थप्नुभयो, “अब सबै कन्जरभेटिभहरूले उहाँको शतप्रतिशत समर्थन गर्ने समय आएको छ ।” गत जुलाईमा सुनकसहित मन्त्रीहरूले जोनसनको कामप्रति असन्तिुष्टि जनाउँदै सरकारबाट राजीनामा दिने घोषणा गरेपछि उहाँले पनि पदबाट हट्ने इच्छा व्यक्त गर्नुभएको थियो । उहाँको राजिनामाको घोषणासँगै नेतृत्वको प्रतिस्पर्धा सुरु भएको थियो ।