१२ बैशाख २०८१, बुधबार 1713946928
Banner

लागुऔषध मुद्दामा फसाएको आरोपमा पाल्हिनन्दन गाउँपालिका अध्यक्षलाई पक्रन आदेश

बुटवल । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ  । साझेदारी व्यापारको एक करोड बढी रकम हडप्ने उद्देश्यले प्रहरीको मिलेमतोमा दुई भारतीयलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा गुप्तालाई पक्राउ पुर्जी जारी गरिएको हो ।

पक्राउ पुर्जी जारी भएपछि अहिले उनी फरार छन् । उनी फरार भएपनि एक हप्ताभित्र मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालय स्रोतले जनाएको छ । अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सरकारी वकिल कार्यालयका एक अधिकृतले जानकारी दिए । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नता देखिएको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो । छानबिनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको छ । तर उनीहरु दुई महिनादेखि प्रहरी हिरासतमा छन् ।

अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको छ ।