११ बैशाख २०८१, मंगलवार 1713937348
Banner

रञ्जन कोइरालाको मुद्दामा चोलेन्द्रले भने,‘क्षमा चाहन्छु, मलाई प्रायश्चित छ ’

काठमाडौँ- महाअभियोगको सामना गरिरहेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार पनि महाअभियोग सिफारिस समितिसमक्ष बयान दिएका छन् ।

प्रतिनिधिसभाले गठन गरेको समितिले आइतबार जबरासँग पाँच वटा प्रश्न सोधेको थियो । ४३ वटा प्रश्न तयार गरेको समितिले यसअघिका दुई बैठकमा ६ वटा प्रश्न सोधेको थियो ।

आइतबार समितिले श्रीमतीको हत्यापछि प्रमाण नष्ट गर्न जलाएको अभियोगमा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालालाई सजाय कम गर्ने गरी गरेको फैसलाबारे प्रश्न गरेको थियो । जवाफमा जबराले उक्त फैसलाप्रति माफी माग्दै आफूले प्रायश्चित गरेको बताए ।

रञ्जन कोइरालालाई कम सजाय गरियो भन्ने आरोपलाई अस्वीकार गर्दै उनले भने, ‘यो आरोप शतप्रतिशत गलत छ । कर्तव्य ज्यान गरेको भन्ने नै सदर गरेको हो । जन्मकैद मुलुकी व्यवस्था अनुसार सजायमा विवेक प्रयोग गर्ने अधिकारको प्रयोग भएको हो । पारिवारिक कुरा र नाबालक छोरा भएको र बच्चाहरूलाई ख्याल गरेर २० वर्ष कैद सजाय भएकोमा ८ वर्ष ६ महिना बसिसकेको अवस्थामा दुई जना बच्चाको लागि न्यायाधीशले विवेक प्रयोग गरेको हो ।’

यस फैसलाप्रति जनतासँग माफी चाहने र आफूलाई प्रायश्चित लागेको जबराको बयान छ ।