४ बैशाख २०८१, मंगलवार 1713273782
Banner

एमालेले सही समयमा सही निर्णय गर्छ : ईश्वर पोखरेल

धनुषा – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनको नाटक सुरु भएको भन्नुहुँदै एमसीसी टेबुलको नाममा कस्तो नाटक हुन्छ हेर्न बाँकी रहेको बताउनुभयो

आज जनकपुरधाममा स्थानीय तहको निर्वाचनको तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले गठबन्धन दलले आ–आफ्नो स्वार्थपूर्ति गर्नका लागि नाटक सुरु गरेको बताउनुभएको हो ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका पोखरेलले सभामुख अग्निप्रसाद सापकोटालाई बचाउनका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि महाभियोग लगाइएको दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले महाभियोग ल्याउनुको तीन/चार वटा पक्ष रहेको बताउँदै सभामुख सापकोटालाई बचाउनका लागि गठबन्धनले कस्ता कस्ता नाटक रच्दैछ, त्यो हेर्न बाँकी रहेको जिकिर गर्नुभयो ।

नेता पोखरेलले एमालेले सही समयमा सही ढंगले गठबन्धनलाई काउन्टर दिने भन्दै मिस फायरको पक्षमा भने एमाले नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो समयमा महाभियोग ल्याउनुको तीन/चार वटा पक्ष रहेका छन् । सभामुख अग्निप्रसाद सापकोटामाथि ज्यान मार्ने उद्योगको मुद्दा चल्दैछ, त्यो भनेको टाउकोमा झुण्डिएको तरबार जस्तै हो । त्यसबाट नेपाली काँग्रेसलाई डाइभर्ट गर्ने, गठबन्धन कायम गर्न, एमसीसी पास गर्न महाभियोग लगाइयो ।’

नेता पोखरेलले भन्नुहुन्छ- ‘एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई संसदीय दलको बैठकबाट कारबाही गरेर चिठ्ठी पठाइएको थियो । त्यसको आधारमा निष्कासन गर्नुपर्ने थियो, त्यसैको पेसी तोकिएको थियो । त्यसलाई छल्नका लागि, गठबन्धन बचाउन र स्थानीय तहको निर्वाचन सार्नका लागि महाभियोगको नाटक गरिएको हो ।’

षडयन्त्रपूर्वक महाभियोग ल्याए पनि आफूहरू निर्वाचन कुनै पनि बहानामा सार्न नदिने पोखरेलले जिकिर गर्नुभयो । उहाँले एमसीसी सम्झौता आफूहरूको पालामा नभएको र अहिले सत्ता गठबन्धन दलसँग १६५ सांसद रहेकाले एमसीसी पास गर्न सक्ने समेत बताउनुभयो ।