७ बैशाख २०८१, शुक्रबार 1713565153
Banner

पहिराले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक अवरुद्ध

शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको जामुने–खैरेनी सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दे गाउँपालिका–६ मौरीओडारमा पहिरो खसेपछि राजमार्ग दुईतर्फीरूपमा अवरुद्ध भएको हो ।

सडकमाथिबाट पहिरा खसेपछि जामुने–खरेनीटार सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो । पहिरो पन्छाउन प्रहरी टोली पुगिसकेको उहाँले बताउनुभयो । “वर्षा भइरहेकाले केही समयमा पहिरो हटाएर राजमार्ग सञ्चालन गराउन प्रयास गरेका छौँ”, उहाँले भन्नुभयो । अविरल वर्षाका कारण खोला बढेपछि म्याग्दे –४ थर्पु बजारमा पनि राप्तीखोलाले बाटो अवरुद्ध बनाएको छ ।

सडकमाथिबाटै खोला बग्न थालेपछि सडक अवरुद्ध भएको स्थानीयवासी भीमलाल श्रेष्ठले जानकारी दिनुभयो । पृथ्वीराजमार्गको अन्य ठाउँमा भने वर्षाका कारण बाटो अवरुद्ध नरहेको प्रहरीले जनाएको छ ।