१९ माघ २०७९, बिहीबार 1675322223
खेलकुद

राष्ट्रिय खेलकुद : स्क्वास र टेबल टेनिसका खेलाडी छनोट

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि स्क्वासतर्फ गण्डकी प्रदेशबाट सात खेलाडी छनोट भएका छन् । पोखरा रङ्गशालास्थित स्क्वास कोर्टमा आज भएको छनोट खेलबाट चार पुरुष र तीन महिला छानिएका छन् । पुरुषतर्फ गोरखाका अमृत थापामगर, कास्कीका दीपक थापामगर, स्याङ्जाका नवराज थापा र वैकल्पिक खेलाडीका रुपमा कास्कीका हिराकाजी श्रेष्ठ छनोट भएका हुन् ।

गोरखाका अमृतले फाइनल स्पर्धामा कास्कीका दीपक थापामगरलाई १०–१२, ११–१६ र ११–६ ले पराजित गर्दै पहिलो बनेका हुन् । अमृत नेपालगञ्जमा भएको आठौँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताका स्वर्ण पद विजेतासमेत हुन् । महिलातर्फ कृष्ण थापामगर (गोरखा), सृशीका उदास र करिश्मा ओली (कास्की) छनोट भएका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगितामा लमजुङ, मुस्ताङ र मनाङबाहेक आठ जिल्लाबाट २६ पुरुष र सात महिलाले प्रतिस्पर्धा गरेका थिए । छनोट खेलका विजेता खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजबहादुर गुरुङ, सदस्य शुभकन्या गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । टेबल टेनिसतर्फ गण्डकी प्रदेशबाट १० खेलाडी छनोट भएका छन् । प्रदेशस्तरीय छनोट प्रतियोगितबाट स्याङ्जाका बुद्धिमान गुरुङ, बागलुङका समीर खत्री, कास्कीका किसन जिसी, लमजुङका प्रितम गुरुङ र पर्वतका प्रतिककुमार राना छनोट भएका छन् ।

पुरुषतर्फको वैकल्पिक खेलाडीमा कास्कीका अनुष कुँवर छनोट भएका छन । महिलातर्फ कास्कीका मुना थापा, पर्वतका प्रकृति थापामगर, लमजुङका शुभेच्छा अधिकारी, कास्कीका तृषा गुरुङ र बागलुङका सचिना पुरी छानिएका छन् । वैकल्पिकमा कास्कीकका निर्मला ओली गिरी छनोट भएकी छन् । छनोट भएका खेलाडीले गण्डकी प्रदेशको टिमबाट पुरुषतर्फको सिङ्गल, डबल्स, टिम इभेन्ट्स तथा महिलातर्फ सिङ्गल, डबल्स, टिम इभेन्ट्स र मिक्स डबल गरी सात इभेन्टमा प्रतिस्पर्धा गर्ने टेनिस प्रतियोगिताका संयोजक उत्तम जोशीले जानकारी दिइन् । उनका अनुसार नवलपुरबाहेक प्रदेशका १० जिल्लाबाट ८५ खेलाडी छनोट खेलमा सहभागी थिए । छनोटमा परेका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङलगायतले मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । आउँदो असोज २८ गतदेखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनोट खेलहरू भइरहेका छन् ।