७ बैशाख २०८१, शुक्रबार 1713573337
Banner

विराटनगरमा ‘प्रेमीलाई नियन्त्रणमा लिएर’ युवतीमाथि ‘सामूहिक बलात्कार’

मोरङ । मोरङमा प्रेमीलाई नियन्त्रणमा लिएर प्रेमिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका  प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार १८ वर्षीया युवतीमाथि विराटनगर–१४ जतुवामा ५ जनाले सामूहिक बलात्कार गरेका हुन् । 

साथीको बर्थ डे मनाएर घर फर्किरहेकी किशोरीलाई आफ्नै प्रेमीले मोटरसाइकलमा घर पुर्‍याउन लगेका थिए । घर पुग्नुअघि विराटनगर १४ जतुवास्थित नहरमा मोटरसाइकल रोकेर गफिरहेका उनीहरूलाई  पाँच जना युवाहरूले नियन्त्रणमा लिएर बलात्कार गरेको प्रहरीले जनाएको छ । 

केटा साथीसँग गफ गरेर बसिरहेका बेला मादक पदार्थ सेवन गरेर पुगेको समूहले किशोरीलाई कुटपिट गरी सामूहिक बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेसँगै घटना सार्वजनिक भएको हो ।

राति ९ः३० बजेतिर आएका पाँच जनाको समूहले दुवै जनालाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।  जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेका युवाहरूले शुरूमा उनका प्रेमीलाई नियन्त्रणमा लिएका थिए । २ जना युवाहरूले प्रेमीलाई नियन्त्रणमा लिएपछि बाँकी ३ जनालाई किशोरीलाई पालैपालो बलात्कार गरेका थिए । उनका प्रेमी युवाहरूको नियन्त्रणबाट फुत्कन सफल भई चिच्याउन थालेपछि स्थानीयवासी जम्मा भएका थिए । स्थानीय जम्मा हुन थालेपछि युवाहरू घटनास्थलबाट फरार भएको प्रहरीले जनाएको छ ।