१३ बैशाख २०८१, बिहीबार 1714076366
पर्यटन

सूर्यविनायक गणेश जात्रा सम्पन्न

गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक गणेश मन्दिरमा आज बिहानै सुरु भई दिनभर भव्य रुपमा टोलटोल परिक्रमा गरी मनाइएको सूर्यविनायक गणेश खट जात्रा साँझ सम्पन्न भएको छ ।

भाद्र शुक्ल चतुर्थी (गणेश चतुर्थी) अर्थात् भगवान् गणेशको जन्मोत्सवको अवसरमा आज सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ का बासिन्दाले बिहान सूर्यविनायक गणेश मन्दिरमा भव्य पूजा गरी मूल गणेशको मूर्तिलाई खटमा विराजमान गराई सुरु भएको रथ जात्रा विभिन्न टोलको परिक्रमा गरी पुनः मन्दिरमा ल्याएर पूजा एवं आरती गरी सम्पन्न गरिएको छ । सूर्यविनायक क्षेत्र संरक्षण समिति र सूर्यविनायक युवा क्लबको संयुक्त आयोजनामा भएको सूर्यविनायक गणेश अर्थात् ‘इनारे गणेद्यो’ खट जात्रा सम्पन्न भएको सूर्यविनायका नगरपालिका–८ का वडाध्यक्ष तथा सूर्यविनायक क्षेत्र प्रबन्ध समितिका अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पुर्खाले मनाउँदै आएको गणेश रथ जात्रा आर्थिक स्रोत नहुँदा वर्षौदेखि रोकिएको थियो, गत वर्षबाट सुरु भएको यो जात्रा यसवर्ष हजारौँ स्थानीयको सहभागितामा सिन्दुर खेल्दै रथ टोलटोल पु¥याएर हर्षोल्लासका साथ सम्पन्न भएको छ, यो जात्रालाई अब हरेक वर्ष सञ्चालन गर्नेछौँ ।” गतवर्ष जात्रा मनाउन वडा नं ६ र ८ कार्यालयले वडाको बजेटबाट रु दुई/दुई लाख गरी रु चार लाखको बजेट व्यवस्थापन गरे पनि यसवर्ष भने दुई वटै वडाबाट रु तीन/तीन लाख गरी कूल रु छ लाख सहयोग गरेको उहाँले बताउनुभयो ।

गणेशको चाँदीको मूर्तिलाई खटमा राखेर रथारोहन गरी सिन्दुर जात्रा गर्दै मन्दिरको पश्चिमतर्फ राजथला टोलसम्म, पूर्वतर्फ चालिसे गाउँ गहनादेवी मन्दिरसम्म, उत्तरतर्फ सूर्यविनायक चोक अरनिको राजमार्गसम्मको टोलटोलमा घुमाएर पुनः मन्दिरमा ल्याएर जात्रा सम्पन्न गरिएको हो । खट जात्राका क्रममा बिहान मन्दिरमा विधिवत पूजा गरेपछि दर्शनार्थीका लागि मूल गेटमा राखेर त्यसपछि खट जात्रा गरी टोलटोलमा परिक्रमा गराएको स्थानीय बासिन्दा रामजी अवालले जानकारी दिनुभयो । गणेशलाई रथारोहन गराएपछि बाजागाजाका साथ रथ बोकेर परिक्रमा गराएको उहाँले बताउनुभयो । जात्रामा यसवर्ष गत वर्षभन्दा तेब्बर मानिसको सहभागिता रहेको र जात्रामा महिला तथा पुरुषले अबिर खेल्दै मनाएको बताउनुभयो । जात्रालाई यहाँको अन्य टोलमा पनि लैजानुपर्ने उहाँले बताउनुभयो ।