८ बैशाख २०८१, शनिबार 1713625979
Banner

एमाले अध्यक्ष ओली आज कञ्चनपुर जाने, २ हजारभन्दा बढीलाई पार्टी प्रवेश गराउने

कैलाली । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जादै हुनुहुन्छ । संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कञ्चनपुर जानलाग्नुभएको हो ।

प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई अध्यक्ष ओलीले आज एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

माओवादीबाट पनि ठूलो संख्यामा एमाले प्रवेश गर्ने जनाइएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता नेता शङ्कर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि एमाले प्रवेश गर्ने जनाएका छन् ।

कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा २ हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कैलाली इन्चार्ज नारदमुनि रानाले जानकारी दिनुभयो ।

बिहान ११ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको र महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १ः०० बजे कार्यक्रम आयोजना हुने जनाइएको छ ।