१५ बैशाख २०८१, शनिबार 1714203333
अर्थ

भारतका गौतम अडानी बने विश्वका तेस्रो धनी

नयाँ दिल्ली । भारतको औद्योगिक घराना अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका तेस्रो धनी व्यक्तिमा दरिएका छन् । फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि पार्दै उनी विश्वको तेस्रो धनी व्यक्ति बनेका हुन् । 

विश्वव्यापीरूपमा व्यापार तथा वित्तीय विवरणको विश्लेषण गर्ने अमेरिकी कम्पनी ब्लुमवर्गले सार्वजनिक गरेको अर्बपतिहरूको सूचीअनुसार ६० वर्षीय गौतम अडानीको कुल सम्पत्ति एक खर्ब ३७ अर्ब ४० करोड डलर छ । ब्लुमवर्गको अति धनाढ्यको सूचीको ११ औँ नम्बरमा भारतका मुकेश अम्बानी छन् उनको खुद सम्पत्ति ९१ अर्ब ९० करोड डलर छ ।

ब्लुमवर्गको धनाढ्यको सूचीमा तीन जना एशियाली उद्योगपतिलाई समावेश गरिएको यो पहिलोपटक हो । अडानीभन्दा अगाडि एलन मस्क र जेफ बजोस छन् । एलन मस्कसँग दुई खर्ब ५१ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ भने जेफ बजोस एक खर्ब ५३ अर्ब अमेरिकी डलर बराबरको कुल जायजेथा छ । रासस