१३ बैशाख २०८१, बिहीबार 1714056270
राजनीति

सामाजिक सञ्जालमा मेरो चरित्र हत्या गर्न खोजियो : महेश बस्नेत

काठमाडौं – नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै कानुनी कारबाहीमा जाने बताउनु भएको छ ।

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ ।

आज सामाजिक सञ्जालमा महेश बस्नेतलाई माओवादी केन्द्रको भ्रातृ संस्था वाइसिएलले कुटेको भन्दै राखिएको भिडिओ भाइरल भइरहेको छ। उक्त भिडिओमा आफू नभएको भन्दै बस्नेतले गलत भिडिओ हालेर चरित्र हत्या गरिएको बताउनु भएको हो ।

मंगलबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बस्नेत अफवाह फैलाएर आफ्नो चरित्र हत्या गर्नेहरूविरूद्ध कानुनी कारबाहीको प्रक्रियामा जाने जानकारी दिनु भयो ।

अहिले फेसबुकमा सेयर भइरहेको भिडिओ गत स्थानीय चुनावका क्रममा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीबाट मेयरको टिकट कृष्णप्रसाद सापकोटालाई दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै अमान सिंह तामाङ र सापकोटा पक्षका कार्यकर्ताबीच भएको विवादको भिडिओ भएको बस्नेतले उल्लेख गर्नु भएको छ ।

उक्त विवादको भिडिओलाई माओवादी केन्द्रका केही व्यक्तिहरूले महेश बस्नेतलाई कुटपिट गरेको भन्दै गरेको झुटो प्रचार गरेको भन्दै  बस्नेतले आपत्ति जनाउनु भयो ।

‘माओवादी केन्द्रका अराजक तत्वहरू केशव थुलुङ्ग, एसपी रेग्मी लगायतले सामाजिक सञ्जालको दुरूपयोग गरी झुटो प्रचार गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ उहाँले भन्ननुभएको छ,‘ आम हाम्रो शुभचिन्तक तथा पार्टी कार्यकर्तालाई भ्रममा नपर्न अपिल गर्दै, सामाजिक सञ्जालको दुरूपयोग गरी व्यक्तिगत चरित्र हत्या गर्ने अराजक यस्ता तत्वहरूलाई कानूनी कारबाही गर्ने छौं। तत्काल साइबर क्राइममा जानकारी गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने समेत सम्पूर्णलाई जानकारी गर्दछु।’