१३ बैशाख २०८१, बिहीबार 1714063177
Banner

तीज पर्वको महत्व र चुनौति

नेपाल अनगिन्ती चाडपर्व मनाउने देशको रूपमा चिनिने गरेको छ । यिनै चाडपर्वमध्ये तीज एक नेपाली महिलाहरूको महान् चाड हो । यो चाड नेपाली महिलाहरू देश विदेश जहाँ बसे पनि निकै हर्षोल्लासका साथ मनाइने गरिन्छ । नेपालमा हिमाल, पहाड, तराई, भित्री मधेश, चुरे भावर सबै क्षेत्रमा तीज पर्व आ–आफ्नै अनुकूलतामा मनाउने प्रचलन रहँदै आएको छ । खासगरी तीज पर्व हिन्दु नारीहरूको पर्व भनिए तापनि यो पर्वमा हिन्दुबाहेकका सबै महिलाहरू सम्मिलित हुने र सँगै खाने, नाच्ने, गाउने गरी सामाजिक सद्भाव बढाउन सक्षम भएको छ । तीज पर्व राष्ट्रिय चाडका रूपमा धुमधामका साथ मनाउने गरिन्छ । यस पर्वमा हिन्दु नारीहरूले मात्र व्रत, उपवास राख्ने गर्छन् भने नाच्ने, गाउँने, बजाउँने, रमाउने सबै महिलाहरूको सहभागितामा निकै रमाइलो गरी मनाउने यो साझा राष्ट्रिय चाड हो भन्न सकिन्छ ।

विवाह गरी पराई घरमा गएका छोरी, चेली, दिदीबहिनी, भान्जी र फुपूलाई माइत, मावल बोलाउने र मिठो, मसिनो परिकार खुवाउने चलन छ । यसरी निम्तो गर्दा बाबा, मामा, दाजु र भाइले लिन जाने चलन छ । यस्तो बेलामा छोरी चेलीले आफूलाई लिन माइती नआएर खबरको भरमा बोलाउँदा आफूलाई हेला भएको महसुस गर्दै गाइएको सानो गीतको उदाहरण यसप्रकार रहेको छ :–

आँगनको डिल बसी काली कौवै करायो
केकुमा समिचार ल्यायो बरिलै
एकुमा समिचार कागतको चिर्कटो
दोसरी समिचार तिम्लाई लिन हो ।
मेरो माया हुँदो हो त बाबा लिन आउँदा हुन्
कागतुको चिर्कटोले जान्न बरिलै ।।

यो पर्व हरेक वर्ष शुक्ल द्वितीयादेखि पञ्चमीसम्म महिला दिदीबहिनीहरू माइतमा जुटेर बिहान, दिउँसो र राती गरी तीन प्रहर घ्यूमा पकाएको खाजा, चाम्रे, खिर, दही, दूध, तामा, चिचिन्डा, घिरौंला, सिमी र फर्सीका मुन्टा आदि तरकारी र मौसमअनुसारका फलपूmल खाने गरिन्छ । तृतीयाका दिन महिलाहरू उपवास बस्ने हुँदा दिनभरी भोक नलागोस्, गाउन, नाच्न सकियोस् भनी मध्य राती पनि चिल्लोचाप्लो परिकार दर खाने खुवाउने गरिन्छ । रातीमा खाने आदिलो खानालाई दर भन्ने प्रचलन रहेको पाइन्छ । सबै प्रकारका खाना मिलाएर घरमा दुःख पाएर रुखो सुखो खाएर जीवन गुजारेका चेलीबेटीले खाने उक्त खानालाई सन्तलित खानाको रूपमा पनि लिन सकिन्छ ।

तृतीया अथवा तीजको दिन सधवा महिलाहरू र रजस्वला भएका अविवाहित महिलाहरू स्नान गरी सुद्ध भई निराहार उपवास बस्ने गर्दछन् । उपवास बसेर श्रीमान्को आयु बढ्छ भन्ने् विश्वास रहिआएको छ । उक्त दिन गाउँ टोलका दिदीबहिनीहरू आफ्नो टोली बनाएर नाच्दै, गाउँदै शिवालय मन्दिर, देवीस्थान, चोक, चौतारा र मैदानमा गएर दुःख सुखका गीतहरू गाएर नाच्ने, रमाइलो गर्ने गर्दछन् । यसरी गाउने, नाच्ने गर्दा गाइने गरेका तीजका केही गीतका उदाहरणहरू यसप्रकार रहेका छन् :

आगनीमा सेंवली प¥यो बरिलै कदमाको छायाँले
अर्पनी दर पनि छोडी आए घर पनि बरिलै बाबाको मायाले
अर्पनी दर पनि छोरी आए घर पनि बरिलै आमाको मायाले ।
त्यस्तै अर्को गीत :–
पँधेरा माथि अम्बा पाक्यो डाली नुगाई खाम्ला बरिलै
हाम्रा बाबा लिन आए ढल्की ढल्की जाम्ला बरिलै

त्यस्तै अर्को गीत :

ढुकुरै चरिले गुँडैमा लायो बरिलै ओतली काठैमा
नाचने नानीलाई भोकैमा लायो बरिलै केही छैन साथमा
फरिया समाइ हिँड मेरी नानी बरिलै लेटौली बाटैमा

महिलाहरूका पीर, व्यथा र मर्मलाई गीतको रूपमा गाएर अभिव्यक्त गरिन्छ । समयको बहावसँगै पछिल्लो समय नेपाली नारीमाथि हुने गरेका अन्याय, अत्याचार, प्रताडना, गलत व्यवहार, सामाजिक परिवेशद्वारा पाएका दुःख दर्दहरूलाई अभिव्यक्त गरिएको पाइन्छ । महिला अधिकार, महिला हिंसा विरुद्धको विद्रोह र नारी चेतनाका स्वरहरू बुलन्द हुने गरेको पाइन्छ । उक्त गीतको एक उदाहरण :

कालो मेरो डोरीमा रातो लाइदेउ रिबन
पढाएनौ बाबाले गयो जीवन
मखमलको चोलीमा घरमलाको कठालो
छोरालाई त पढाउ बाबा छोरी गोठालो
अधिकार पाइँदैन रोएर
अधिकार लिनु पर्छ आपैm खोसेर ।।

यसरी नेपाली महिलाहरूको महान् चाड तीजका बेला गाइने तीज गीत जुनसुकै रूपमा उत्पत्ति भए तापनि तीज गीतहरूले देश तथा विदेशमा पहुँच पु¥याएको छ (पराजुली र गिरी, २०६८ / ५६) भनेर उल्लेख गरेका छन् । तीजलाई विशेषगरी नारी विषयक पर्व भन्न सकिन्छ । अचेल तीज पर्वमा गाइने तीज गीतमा विकृति, विसङ्गति भित्रिँदै गएको छ । मौलिक तीज गीतमा लाउने भेषभूषा लगाउन छोडिएको छ । लय तथा शब्द र नृत्यमा मौलिकता हराउँदै गएको छ । गोरस र परमपरित तीज पर्वको खाना तिरस्कृत हुँदैछ । यो संस्कृति हामी नेपालीहरूको गौरव हो तसर्थ तीज पर्व र तीज गीतको संरक्षण, संवद्र्धन र उत्थानमा लाग्नु हामी सबैको कर्तव्य ठानौं ।
(लेखक संविधानसभा सदस्य हुनुहुन्छ)