२२ बैशाख २०८१, शनिबार 1714879388
प्रदेश

कर्णाली प्रदेश प्रहरीका संरचनाहरू लुम्बिनीमै

विसं २०७८ कात्तिक अन्तिम साता सुर्खेतको लेकबेँसी नगरपालिका–१ स्थित खेतबारीमा एक बालिकाको शव फेला प¥यो । बालिकाको मृत्यु ‘शङ्कास्पद’ देखिएपछि जिल्ला प्रहरीले घटनाको अनुसन्धान गर्न कोहलपुरबाट तालिम प्राप्त कुुकुर झिकायो । प्रहरीको कुकुर (के नाइन) शाखा कर्णाली प्रदेशमा नहुँदा अनुसन्धानका लागि कोहलपुरबाट कुकुर ल्याउन–लैजान कठिनाइ हुने गरेको छ ।

गतवर्ष सुर्खेतका साथै रुकुम पश्चिम, सल्यान र जुम्लामा भएका आपराधिक घटनाको अनुसन्धानका लागि प्रहरीले कोहलपुरबाटै कुकुर झिकाएको थियो । यही भदौ ९ गते कर्णाली प्रदेश प्रहरी कार्यालयअन्तर्गत प्रहरी जवान आधारभूत तालिम ९–१३८ औँ समूहको तालिम लुम्बिनी प्रदेशमा बाँकेको नेपालगञ्जमा सम्पन्न भयो । तालिम नेपालगञ्जमा र दीक्षान्त समारोह सुर्खेतमा हुँदा प्रशिक्षार्थीले सास्ती भोग्नुप¥यो । कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत रहेको प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमै रहँदा तालिमका लागि नेपालगञ्ज जानुपर्ने र दीक्षित हुन सुर्खेत आउनुपर्ने बाध्यता रहेको छ । यी दुई प्रतिनिधिमूलक उदाहरण हुन् । कर्णाली प्रदेशमा प्रहरीका संरचनाहरू स्थापना नहुँदा अपराध अनुसन्धानदेखि प्रहरी परिचालन, प्रशिक्षण, तालिमलगायत कार्यहरू प्रभावित भएको बताइएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले प्रदेशमा हस्तान्तरण गरिएका संरचनाहरू प्रदेशमै स्थापना नहुँदा आर्थिक भार बढ्नुका साथै अपराध अनुसन्धानलगायत कार्यहरू प्रभावित भएको बताउनुभयो । “अपराध अनुसन्धानमा तालिम प्राप्त कुकुरबाट धेरै सफलता मिलेको छ, तर कोहलपुरबाट झिकाउँदा बढी खर्च हुने, जनशक्ति चाहिने हुँदा झन्झटिलो त्यत्तिकै छ”, उहाँले भन्नुभयो, “कम्तीमा सुर्खेतमा कुकुर शाखा स्थानान्तरण भएको भए दैनिकजसो हुने आपराधिक घटनाको अनुसन्धानमा प्रदेश प्रहरीलाई सहजता हुन्थ्यो ।” प्रदेश प्रहरी कार्यालय सुर्खेका अनुसार कर्णाली प्रदेशअन्तर्गतका प्रहरीका चार संरचना अझै लुम्बिनी प्रदेशको बाँके जिल्लामा छन् । नेपालगञ्जमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, नेपाल प्रहरी विशेष सुरक्षा गण (दङ्गा नियन्त्रण), प्रदेश प्रहरी एकाइ (सङ्घीय प्रहरी) र कोहलपुरमा प्रहरीकै के–नाइन (कुकुर शाखा) छन् । प्रहरी प्रधान कार्यालयले यी संरचना कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत सञ्चालन गर्न हस्तान्तरण गरिसकेको हो ।

प्रदेश प्रहरी प्रवक्ता श्रेष्ठले तालिम केन्द्रका लागि २० बिगाहा जग्गा आवश्यक पर्ने बताउनुभयो । “तालिम केन्द्रका लागि सम्भावित स्थानको खोजी भइरहेको छ, जग्गा प्राप्तिमा समय लाग्छ”, उहाँले भन्नुभयो, “बाँकी संरचनाको हकमा घर भाडामा लिएर वा प्रहरीकै जग्गामा अस्थायी संरचना बनाउने सन्दर्भमा प्रदेश सरकारसँग कुराकानी भइरहेको छ ।” नेपाल प्रहरी विशेष सुरक्षा गणलाई तत्काल सुर्खेत जिल्ला कारागार नजिक रहेको प्रहरीकै जग्गामा अस्थायी संरचना बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । प्रदेश प्रहरीले तालिम केन्द्रका लागि भेरीगङ्गा, वीरेन्द्रनगर र पञ्चपुरी नगरपालिकाको वन क्षेत्रमा पर्ने जग्गाको पहिचान गरेको छ ।

तीमध्ये कुनै एक स्थानको जग्गा छनोट गरिनेछ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बाँके जिल्लामा रहेका प्रहरीका संरचनाहरू कर्णालीमा स्थानान्तरण गर्न आफूहरूले पहल गरिरहेको बताउनुभयो । “स्थायी जग्गाको खोजी, वैकल्पिक जग्गाको व्यवस्थापनको काम मन्त्रालय र प्रदेश प्रहरी कार्यालयबाट भइरहेको छ, सबै कार्यालयहरू एकैपटक स्थानान्तरण गर्न सम्भव नभए पनि भाडाको भवनमा सञ्चालन गर्न सकिने कार्यालयहरू चाँडै ल्याउने प्रयासमा छौँ,” उहाँले भन्नुभयो, “कर्णालीमा संरचना स्थानान्तरणमा केन्द्रले गरिरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छौँ, पछिल्लो पटक गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले यसलाई गम्भीरतापूर्वक लिएको पाएको छु ।” सङ्घीयता कार्यान्वयनको पाँच वर्ष बित्नै लाग्दासमेत एउटा प्रदेशको कार्यालय अर्कै प्रदेशमा रहनु विडम्बना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मेरै कार्यकालमा प्रहरीका सबै कार्यालय कर्णालीमा स्थापना गरेरै छाड्छु, त्यसैको तयारीमा जुटेको छु, भाडाकै भवन भए पनि कार्यालय स्थापना हुनेछन् ।”