१३ बैशाख २०८१, बिहीबार 1714109238
Banner

केन्याविरुद्ध ​टी–२० अन्तरराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी

केन्याविरुद्ध ​टी–२० अन्तरराष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ। यो जितसँगै ५ खेलको शृंखलामा नेपालले २-१ को अग्रता लिएको छ।

जितका लागि १५७ रनको लक्ष्य पाएको नेपालले ३ बल बाँकी छँदै लक्ष्य भेट्टायो। नेपालको जितमा ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन जोडे।

टी–२० क्रिकेटमा डेब्यू गरेका अर्जुन साउदले ३५ रनको योगदान गरे। पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका उनले ३ छक्का र २ चौका प्रहार गरे।

रोहित पौडेलले २९ तथा पवन सर्राफले २० रन जोडे। अदिल आलमले १६ रन जोडे।

बलिङतर्फ केन्याका विराज पटेल र युजिन ओचिङले २/२ विकेट लिए। ​कोलिन्स ओबुया र इमानुएल बन्डले १/१ विकेट हात पारे।

यसअघि केन्याको राजधानी नैरोबीस्थित जिमखाना क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको केन्याले निर्धारित २० ओभरमा मात्र २ विकेटको क्षतिमा १५६ रन बनाएको थियो।

केन्याका राकेप पटेलले अविजित ७३ रनको योगदान गरे। ४३ बलको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे। इर्फान करिमले ५५ रन जोडे। ​ कोलिन्स ओबुयाले १४ तथा सुखदीप सिंहले ८ रनको योगदान गरे।

बलिङतर्फ नेपालका सोमपाल कामी र अदिल आलमले १/१ विकेट लिए। आजको खेल जितेसँगै नेपालले ५ खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ।