१३ बैशाख २०८१, बिहीबार 1714081107
पर्यटन

धार्मिक र पर्यटकीय गन्तव्यस्थल बन्दै अकलादेवी मन्दिर

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित अकलादेवी मन्दिर धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास हुन थालेको छ । ऐतिहासिक एवं धार्मिकस्थल अकलादेवी मन्दिरलाई चर्चामा ल्याउन स्थानीयवासीको प्रयास सार्थक हुँदै गएपछि यो ठाउँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो ठाउँ अहिले धार्मिक पर्यटकीय स्थल बन्न थालेको मन्दिर निर्माण समितिका संयोजक रामभक्त घिमिरेले जानकारी दिनुभयो । जीर्ण रहेको मन्दिरलाई पुनर्निर्माण गरी आकर्षक बनाइएको छ । तामाको छानो छाएर  गजुर राखिएको  उक्त मन्दिर पुनर्निर्माणका लागि साढे दुई करोड खर्च भएको छ । 

मन्दिरको नजिकै वनभोजस्थल बनाइएको छ । वनभोजका लागि पनि विभिन्न समूह आउने क्रम बढेको छ । चिसो हावा र मनोरम दृश्यका कारण वनभोजका लागि यस ठाउँ पर्यटकको रोजाइँमा पर्ने गरेको छ । मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सो अनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोड आवश्यकपर्ने देखिएको छ । 

मन्दिर व्यवस्थापन समितिले प्रदेश सरकारको सहयोगमा भजनकीर्तन गर्न पार्टी निर्माण गरेको तर  त्यसलाई पूर्णता दिन बाँकी रहेको संयोजक घिमिरेले बताउनुभयो । “यस क्षेत्रको सर्वाङ्गीण विकासका लागि गुरुयोजना बनाएर अघि बढेका छौँ”, उहाँले भन्नुभयो, “करिब रु एक करोड खर्च भए पनि गुरुयोजनाअनुसारका सम्पूर्ण काम सक्छौँ ।” मन्दिर र अन्य पूर्वाधार निर्माणका लागि हालसम्म प्रदेश सरकारले रु ६५ लाख, सङ्घीय सरकारले रु आठ लाख, म्याग्दे गाउँपालिकाले रु २६ लाख सहयोग गरेको छ । रु २० लाखको लागतमा व्यावसायिक भवन निर्माणको तयारी गरिएको छ ।

पहिलो पटक किल्चोक पुग्नुभएका तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले यो ठाउँ मनोरम रहेको बताउनुभयो । “मन्दिरको छुट्टै महत्व त छँदैछ तर यहाँको हावापानी र दृश्य पनि मनमोहक लाग्यो”, उहाँले भन्नुभयो, “पहिलो पटक पुग्दा नै आनन्द आयो, यस ठाउँको व्यापक प्रचारप्रसार गर्नुु आवश्यक छ ।”

 यो मन्दिरको छुटृै  विशेषता रहेको छ, त्यो विशेषता हो– मन्दिरमा रहेको घण्ट आफैँ हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, कसैले नहल्लाइकन पनि घण्ट आफैँ हल्लिन्छ र ? तर मन्दिरमा रहेको घण्ट आफैँ हल्लिएको देख्दा स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत चकित पर्ने गरेका छन् ।    अकलादेवी खुसी भएकाबेला मन्दिरभित्र रहेको घण्ट आफैँ हल्लिने र बज्ने गरेको बताइन्छ । देवी प्रशन्न भएको अवस्थामा रातिको समयमा घण्ट बज्ने गरेको संयोजक घिमिरेले बताउनुभयो । “यज्ञयज्ञधि, धार्मिक अनुष्ठान र पञ्चवलि दिएका बेलामा देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ, यहाँ दैविशक्ति भएको यसले पुष्टि गर्छ ।”

 विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासीले बताए  । त्यस बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यसबारेमा जानकारी गराएपछि यो दैवीय शक्ति नै भएको र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ भनेर संरक्षणको काम सुरु भएको थियो ।

“घण्ट हल्लने कुरा वास्तविक हो, यो हल्ला होइन । मन्दिरमा पञ्चवलि लिएर आएको समयमा घण्ट हल्लन्छ”, स्थानीयवासी दधिराज घिमिरेले भन्नुभयो । मनले चिताएको पूरा हुने धार्मिक विश्वासका साथ यहाँ दैनिक ५०÷६० भक्तजन पूजाआजाका लागि आउने गरेका छन् । विसं २०५५ मा मन्दिरमा योगी नरहरिनाथले ८५औँ कोटी होम लगाउनुभएको थियो । यस क्षेत्रमा धार्मिक शक्ति भएका कारणले नरहरिनाथले यहाँ कोटीहोम लगाउनुभएको बताइन्छ ।  

अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान गरिएको छ । मन्दिर नजिकै पञ्चवलि दिने स्थान र हवनकुण्ड पनि छ । अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमाका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।