८ बैशाख २०८१, शनिबार 1713635388
पालिका

ढुङ्गेधाराको सात टहरासहित तीन भ¥याङ भत्काइयो

अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भ¥याङ हटाएको छ ।

गत मङ्गलबारदेखि कामपाले नक्सा पासअनुरुप निर्माण नभएका र नक्सा पासअनुरुप निर्माण भए पनि सोहीअनुरुप प्रयोग नभएको संरचना अवैध भएको भन्दै त्यस्ता संरचना हटाउँदै आएको छ । कामपाका नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार उक्त स्थानका अवैधरुपले बनाइएका सात टहरासहित सडकबाट नै घरमा राखेको तीनवटा भ¥याङ भत्काइएको हो । उक्त अभियानअन्तर्गत हालसम्म बानेश्वरस्थित बानेश्वर कम्प्लेक्सका अवैधरुपले बनाइएका संरचना, काठमाडौँ मलका अवैधरुपले बनाइएका संरचना, आरबी कम्प्लेक्सका १४ साना पसल र बानेश्वरस्थित अल्फाबिटामा निर्माण गरिएको संरचना भत्काइएको छ ।

दरबारमार्गमा रहेका अवैध संरचना पनि तत्काल हटाउन कामपका प्रमुख बालेन्द्र साहले निर्देशन दिनुभएको छ । आनाकानी गर्दै आएका ती संरचनामा डोजर चलाउन महानगर बाध्य हुने बताइएको छ । अवैधरुपले बनाइएका संरचना घरधनीलाई नै भत्काउन वा निर्माण गरिएअनुसार प्रयोग गर्न लगाउने भन्दै कामपाले ३५ दिने सूचना जारी गरेको थियो । सार्वजनिक सूचना बेवास्ता गरेपछि अवैध संरचना हटाउन थालिएको हो । अवैध संरचना हटाएसँगै हाल उपत्यकामा भइरहेको पार्किङको समस्या २५ प्रतिशतले समाधानसँगै ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने कामपाको विश्वास छ । नक्साअनुरुप निर्माण नभएका, निर्माण भए पनि सोहीअनुसार प्रयोग नभएका र सार्वजनिक जग्गा मिचेर निर्माण भएका संरचना अवैध ठहर गर्दै कामपाले भत्काउन थालेको हो । हाल बेसमेन्ट र भूमिगत पार्किङ राख्ने शर्तमा कर छुट लिइरहेका ३५ भवन रहेको कामपाले जनाएको छ ।