१३ बैशाख २०८१, बिहीबार 1714040761
Banner

आन्दोलनकै भरमा शिक्षकलाई स्वत स्थायी गर्न सकिन्दैन : त्रिवि

काठमाडाैं : त्रिभुवन विश्वविद्यालयले आंशिक र करार शिक्षकलाई आन्दाेलनकै भरमा स्वत: स्थायी गर्न नसकिने जनाएकाे छ।

त्रिविले सोमबार  अपिल जारी गर्दै आंशिक र करार शिक्षक तथा कर्मचारीबाट बारम्बार तालाबन्दी गरेर स्वतः स्थायी हुन खोज्ने प्रवृति बढेको भन्दै अब सो दबाव स्वीकार्य नहुने प्रष्ट पारेको हाे।

त्रिविले अपिलमा विभिन्न शिक्षक कर्मचारी तथा विद्यार्थी संगठनका नामबाट भइरहेका आन्दोलन, तालाबन्दी र अनसनहरूले विश्वविद्यालयको पठनपाठन, प्रशासनिक काममा अवरोध उत्पन्न भएको भन्दै यस्ता प्रवृति अन्त्य गर्न सबैमा आह्वान पनि गरेको छ।

सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्र प्रसाद दाहालले जारी गरेको अपिलमा अनावश्यक र असान्दर्भिक माग राखेर त्रिविमा निरन्तर तालाबन्दी गर्नुको पछाडि प्राज्ञिक भन्दा पनि भिन्न तत्वले सक्रियता बढाइरहेको आशंका गरिएको छ।

अपिलमा भनिएको छ,’अनसनको आडमा वा तालाबन्दीको दबाबमा विश्वविद्यालयका पदाधिकारीहरूलाई भौतिक,मानसिक र नैतिक दबाब दिई आंशिक शिक्षकलाई स्वतः करार सेवामा,करार सेवा प्रवेश पश्चात स्वतः स्थायी वा आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गर्ने परम्परालाई हालको त्रिवि नेतृत्वले अब उप्रान्त कदापी स्वीकार गर्दैन। खुला प्रतिस्पर्धामार्फत आफूलाई अब्बल साबित गर्न खोज्ने, अनुसन्धानमा विशेष रुची राख्ने, सृजनशील, लगनशील, अनुशासित शिक्षकहरुलाई त्रिविले सदैव स्वगत गर्दछ।’