१२ बैशाख २०८१, बुधबार 1713956933
पर्यटन

पर्यटकको रोजाइमा कास्की सिक्लेसको कफुचे हिमताल

कास्कीको मादी गाउँपालिका–१ मा पर्ने कफुचे हिमताललाई विश्वकै कम उचाइमा रहेको दावी गरिएको छ । समुद्री सतहबाट दुई हजार चार सय ५० मिटर उचाइमा रहेको यो ताल पछिल्ला वर्षमा पर्यटकको रोजाइमा पर्न थालेको छ । पर्यटकीय नगरी पोखराबाट नजिकै रहेको कला संस्कृतिले भरिपूर्ण गुरुङ गाउँ सिक्लेसबाट एक दिनको पदयात्रामा पुग्न सकिने भएका कारण पनि यो पछिल्लो समय चासो र चर्चामा छ । तालको महिमा र गरिमालाई स्वदेशी एवं विदेशी पर्यटक माझ पु¥याउँदै यसको प्रवद्र्धन गर्ने लक्ष्यका साथ मादी गाउँपालिकाले यसको प्रवद्र्धनलाई जोड दिएको वडा नं १ का वडा अध्यक्ष देवीजंग गुरुङले बताउनुभयो ।

सिक्लेसबाट कफुचेसम्म पुग्ने पैदलमार्गलाई व्यवस्थित गर्नेतर्फ आफूहरूको चासो र सक्रियता बढेको उहाँले बताउनुभयो । हराउँदै गएको घोडचढी संस्कृतिको जगेर्नालाई लक्षित गरी गाउँपालिकाले सिक्लेसबाट कफुचेसम्मका लागि अनुदानमा घोडा खरिद गर्ने गरी कार्यक्रम अघि सारेको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा घोडचढी व्यवसाय सञ्चालन गर्न चाहनेले ५० प्रतिशत अनुदानमा घोडा खरिद गर्न पाउँछन् । “गाउँपालिकाले अफ्नो नीति तथा कार्यक्रममा उक्त अनुदानको कार्यक्रमलाई समेटेको छ”, वडाध्यक्ष गुरुङले बताउनुभयो, “यो सँगै स्थानीयको रोजगारी प्रवद्र्धन एवं सिक्लेस र कफुचेबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने छ ।” अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट आएको हिमपहिरो पग्लिएर बनेको सो तालमा पुग्ने जो कोही त्यहाँको सुन्दर दृश्यबाट लोभिने गरेका छन् । लगभग एक हजार दुई सय वर्गमिटरमा फैलिएको तालको नीलो कञ्चन पानी मनमोहक छ । पछिल्ला वर्षमा उक्त क्षेत्रमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन वर्षेनी बढ्दै गएको छ ।

ताल कहिले बन्यो भन्ने यकिन तथ्य नभए पनि अन्नपूर्ण दोस्रो र चौथो हिमालको बीचबाट कुनै समयमा हिमपहिरो आएर सो ताल बनेको अनुमान गरिन्छ । उक्त क्षेत्रमा पहिले पहिले विभिन्न भेडी गोठ रहेपनि अहिले भने छैनन् । कफुचे नामाकरण सम्बन्धमा स्थानीयको आफ्नै तर्क छ । स्थानीय गुरुङ भाषामा ‘क’ भनेको हिउँको थुप्रो, ‘फु’ भनेको पग्लनु र ‘चे’ भनेको समथर ताल हो । हिउँ पग्लेर बनेको हुनाले यस ताललाई ‘कफुचे’ भन्ने गरिएको बताइन्छ । स्थानीयका अनुसार करिब डेढ दशकअघिसम्म हिउँको थुप्रो रहेको सो स्थानबाट नै आवतजावत गर्न सकिन्थ्यो । पछिल्ला समयमा वर्षेनी बढ्दै गएको जलवायु परिर्वतको असरका कारण हिउँ पग्लेर ताल बनेको स्थानीयवासीको तर्क छ ।