४ बैशाख २०८१, मंगलवार 1713284342
Banner

दुई छोरीका साथ राष्ट्रपति भण्डारी ‘छोरी’ कार्यक्रममा सहभागी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज यहाँ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको छ । सिस्नुपानी नेपालले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उहाँआफना दुई छोरी उषाकिरण र निषाकुशुमका साथ सहभागि हुनुभएको हो । छोरी तथा महिला शसक्तिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारले समाजमा छोरीको महत्व दर्शाउँदै विभिन्न कला प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी र महिलाका विषयमा प्रस्तुत गरिएका विभिन्न साङ्गीतिक र साहित्यिक कार्यक्रमको अवलोकन गर्नुभयो । कार्यक्रममा कलाकार मनोज गजुरेलले विधुवा आमाको भेषमा विधुवा महिलाले समाजबाट झेल्नुपरेको समस्याबारे प्रस्तुति गर्नुभएको थियो । यस्तै मदनकृष्ण श्रेष्ठले छोरी नभएको भए छोरा मान्छेको जन्म नहुने भन्दै छोरी पनि छोरा सरह समाजमा अहिले प्रतिष्ठित ठाउँमा पुगेको बताउनुभयो । कार्यक्रममा १८ जना छोरीले तवेला, बासुरीसहित साङ्गीतिक, १२ जना छोरीले नौमति बाजा बजाउनुको साथै ३४ जना छोरीले बासुरीका विभिन्न धुन बजाउनुभएको थियो । यस्तै कुन्ता शर्माले ‘पोथी बास्नु हुँदैन’ लक्ष्मण गाम्नागे ‘मान्छे र आइमाई’ मामिला जोशीले ‘नगरबधुको कर्तव्य’, भावना शर्माले ‘म जयसरा’ र अर्जुन पराजुलीले ‘मलाई जन्मिन देऊ’ शीर्षकमा कतिवा वाचन गर्नुभएको थियो । कार्यक्रममा अन्जु पन्तलगायत कलाकारले छोरी र आमाको भावले भरिएका गीत गाउनुभएको थियो । कार्यक्रममा राजनीतिक दलका नेता, सुरक्षा अधिकारी, महिला अधिकारकर्मी, कलाकारलगायतको सहभागिता रहेको थियो ।