१३ बैशाख २०८१, बिहीबार 1714084465
विश्व

भारतमा एकै परिवारका छ जना मृत अवस्थामा

भारतमा शुक्रबार एउटै परिवारका छ जना मृत अवस्थामा भेटिएका छन् । देशको अम्बालाअन्तर्गत पर्ने बालाना गाउँका एकै परिवारका छ जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । घटनाका बारेमा जानकारी पाउने वित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

प्रहरीले घटनास्थलमा उनीहरुले मृत्यु अगाडि लेखेको पत्र समेत भेटिएको जनाएको छ । तर पत्रमा लेखिएको विषय भने प्रहरीले जानकारी दिएको छैन । घटनामा ६५ बर्षका संगत राम, ३४ बर्षका सुखविन्डर सिंह, संगतकी श्रीमती महिन्द्रा कौर, सुखविन्डरकी श्रीमती रिना, सिंहका दुई छोरीहरु अशु र जास्सीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको मृत्युको कारण भने अहिलेसम्म खुलेको छैन ।

तर प्रारम्भिक अनुसन्धानबाट उनीहरुको आत्महत्या भएको आशंका गरिएको छ । प्रहरी उपनिरिक्षक जोगिन्दर शर्माले घटनाका बारेमा अनुसन्धान भइरहेकाले थप विवरण आउन बाँकी नै रहेको जानकारी दिनुभयो । उनीहरुको शव जम्मुमा रहेको सरकारी मेडिकल कलेजमा राखिएको छ । घटनाका बारेमा बुझ्न प्रहरीले स्थानीय र उनीहरु निकटस्थसँग बयान लिएको छ ।