६ बैशाख २०८१, बिहीबार 1713454751
राजनीति

बालेन्द्रलाई महेश बस्नेतको चुनाैती-डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनु

भक्तपुर- नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले काठमाडौंका मेयर बालेन शाहलाई घरमा डोजर हान्न मन भए ड्राइभिङ सिकेर भक्तपुर आउन चेतावनी दिनुभएको छ ।

सामाजिक सञ्जालमा लेख्दै बस्नेतले भक्तपुरतिर डोजरले ध्वंस होइन निर्माण गरेको बताउदै विकासको लहर हेर्ने मन भए काजमा सूर्यविनायक आउन निम्तो दिनुभएको छ । बस्नेतको अघिल्लो स्टाटसमा कमेन्ट गर्दै बालेनले ‘हजुरको घरको नक्सा पास छ कि छैन ?’ भनेर सोधेपछि बस्नेत आक्रोसित हुनुभएको हो । बालेनको कमेन्ट शेयर गर्दै बस्नेतले लेख्नु भएको छ ‘तपाईंलाई सबैको घरको नक्सा हेर्ने भुत सवार भएछ । मेरो घरको नक्सा हेर्न मन भए सूर्यविनायक नगरपालिका काजमा आउनुहोला । ’

बस्नेतले भत्काएर र ध्वंस गरेर हिरो हुन्छु भन्ने नसोच्न बालेनलाई चेतावनी दिनुभएको छ । उहाँले लेख्नुभएको छ ‘हाम्रोतिर ध्वंस होइन निर्माणको लहर चलेको छ । यताका मेयर डोजरमा चढ्दैनन् । ड्राइभर चढ्छन् । डोजर चलाउन रहर भए ड्राइभिङ सिकेर आउनुहोल । ’ बस्नेतले अगाडी लेख्नुहुन्छ ‘दुई चार सय फेसबुके फ्यान भए भनेर नमातिनु होला । ’

अल्फाविटामा भएको डोजर काण्डको विरोध गर्दै यस अघि बस्नेतले फेसबुकमा बालेनलाई लक्षित गर्दै कसैको सन्की आतंक नियन्त्रण गर्न बाध्य हुने लेख्नु भएको थियो । मेयर शाहले अल्फा हाउस बानेश्वरमा डोजर हानेपछि बस्नेतले के कारणले त्यहाँ डोजर हानेको भन्ने प्रश्न सोध्धै सन्की र लहडले हो भने त्यसलाई नियन्त्रण गर्न आफूहरु बाध्य हुने उल्लेख गर्नुभएको थियो । उक्त लेखाइमा बालेनले बस्नेतलाई सबैलाई नियम कानुन लाग्ने भन्दै तपाईंको घरको नक्सा छ भनेर सोध्नु भएको थियो ।