७ बैशाख २०८१, शुक्रबार 1713518970
विश्व

भारतीय प्रधानमन्त्री मोदी शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको अन्त्येष्टिमा सहभागी हुनुहुने भएको छ । भारतीय सरकारी स्रोतका अनुसार यो एक दिने भ्रमण हुनेछ । जापान सरकारले सेप्टेम्बर २७ मा आबेको राजकीय अन्त्येष्टि गर्ने कार्यक्रम तय गरेको छ ।

टोकियोको कितानोमारु नेसनल गार्डेनस्थित निप्पोन बुडोकान एरेनामा उक्त समारोह हुनेछ । जापानको क्योदो समाचार एजेन्सीका अनुसार प्रधानमन्त्री मोदीले जापानी प्रधानमन्त्री फुमियो किशिदासँग पनि भेटवार्ता गर्ने बताइएको छ । जापान यस क्षेत्रमा भारतको एक प्रमुख सहयोगी हो, दुबै देशले संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाको साथ व्यापक साझेदारीको ‘क्वाड ढाँचा’मा सहकार्य गरिरहेका छन् । मोदी र आबेबीच उहाँ प्रधानमन्त्री रहँदा र पछि पनि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको थियो । सन् २०१८ मा प्रधानमन्त्री मोदीको जापानको औपचारिक भ्रमणका क्रममा आबेले आफ्ना भारतीय समकक्षीलाई यामानाशी प्रान्तस्थित आफ्नो पारिवारिक घरमा भेट्नुभएको थियो । गत मे महिनामा क्वाड शिखर सम्मेलनमा भाग लिन जापान गएका भारतीय प्रधानमन्त्री मोदीले आबेले राजीनामा दिएको करिब दुई वर्षपछि त्यहाँ भेटेवार्ता गर्नुभएको थियो । जापानी भूतपूर्व प्रधानमन्त्री आबेमाथि जुलाई ८ मा नारा शहरमा चुनावी भाषणका क्रममा आक्रमण भएको थियो । प्रहरीका अनुसार पछाडिबाट गोली लागे लगत्तै उहाँ होश रहेपनि उपचारका लागि स्थानान्तरणका क्रममा उहाँको अवस्था गम्भीर बन्दै गएको थियो । त्यही दिन स्थानीय अस्पतालले उहाँलाई मृत घोषणा गरेको थियो । आबेको हत्यापछि भारतमा एक दिन राष्ट्रिय शोकको घोषणा गरिएको थियो । सेप्टेम्बर २७ मा हुने आबेको अन्त्येष्टि दोस्रो विश्वयुद्धपछि पूर्व प्रधानमन्त्रीका हैसियतमा दोस्रो राजकीय अन्त्येष्टि हुनेछ । यस पहिले सन् १९६७ मा शिगेरु योशिदाका लागि राजकीय अन्त्येष्टि आयोजना गरिएको थियो । रासस