८ बैशाख २०८१, शनिबार 1713639972
कृषि

जुम्ली किसानलाई स्याउ टिप्न चटारो

जुम्ला- जुम्लाका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न चटारो परेको छ । स्याउमा गुलियोपन भरिएसँगै बिक्री गर्न थालेको तिला गाउँपालिका–१ का स्याउ किसान माने रावतले जानकारी दिनुभयो ।

बगैँचाको स्याउ टिपेर बिक्री गर्न थालिएको छ । उहाँले भन्नुभयो, “स्थानीय जातको स्याउ र गोल्डेन जातका स्याउ लगाएको छु । स्थानीय जातको जुम्ली स्याउ पाक्न थालेको छ । घरमै प्रतिकेजी ६० मा बिक्री सुरु गरेका छौँ ।

गाउँकै स्थानीय व्यापारीले सुर्खेत, नेपालगञ्ज लैजाने गरेका छन् ।” उहाँले पाँच हजार रोपनीमा पातिहाल्ल स्याउ तथा कृषि समूह गठन गरी करिब एक हजार स्याउका बिरुवा र केही ओखरका बोट लगाएको बताउनुभयो ।

स्याउ लगाएको चार वर्षपछि फल दिन थालेको छ । यो वर्षमा दुई सय ८० किलो बिक्री भइसकेको पातिहाल्ल स्याउ तथा कृषि समूहका सचिव गोरीकला बस्नेतले बताउनुभयो । अरू जातमा गुलियोपन आइसकेको छैन । किसानले अर्डरअनुसार बिक्री गर्ने हो । अहिले जिल्लाको स्याउ तराईका विभिन्न सहरमा जाने गरेको जुम्लाका स्याउ किसान बताउँछन् ।

कृषि विकास कार्यालय जुम्लाले जिल्लाका किसानदेखी उद्यमी र समूहलाई ५० प्रतिशत अनुदानमा स्याउका बिरुवा दिने गरेको छ । गोल्डेन जातको स्याउ असोजदेखि राम्रोसँग पाक्ने हुँदा अहिले स्थानीय जातको र गोल्डेन जातको स्याउ मिलाएर व्यापारीले लिने गरेका छन् ।

एक सय पाँच क्विन्टल स्याउ सुर्खेत र अछाममा बिक्री गरी रु १२ लाख बराबरको कारोवार भएको तिला गाउँपालिका–२ मा रहेको कृषि सङ्कलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहोराले जानकारी दिनुभयो ।

जिल्लामा कति प्रतिशत स्याउ उत्पादन भएको छ र कति प्रतिशत स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ भन्ने तथ्याङ्क सङ्कलनमा स्थानीय तहका कृषि शाखासँग समन्वय भइरहको बताइएको छ ।